Connect with us
Kapilvast Forest

जो उडानमा संयमित मात्रै थिएनन्, अन्य पाइलटलाई पनि विमान सेफ्टीबारे सिकाउँथे

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं -तारा एयरका वरिष्ठ पाइलट प्रभाकर घिमिरे हवाई सेफ्टीमा निकै ‘कन्सर्न’ राख्थे। उनी पछिल्लो २२ वर्षदेखि उडानसँगै हवाई सेफ्टीमा काम गर्दै आएका थिए। अनुभवका हिसाबले पनि उनी परिपक्व पाइलटमा गनिन्थे। उनी आफ्ना सहकर्मी पाइलटहरूलाई पनि हवाई सेफ्टीबारे वेला–वेलामा सचेत गराइरहन्थे। नयाँ पाइलटलाई तालिम दिन्थे। यति मात्रै होइन, उनी तारा एयरका ‘सेफ्टी डिपार्टमेन्ट डाइरेक्टर’समेत थिए। तर दुर्भाग्य ! हवाई सेफ्टीमा निकै ध्यान दिने चलाखी पाइलट घिमिरेलाई आइतबार आफैँले उडान भरेको जहाजले धोका दियो। उडान भरेको केही छिनमै जहान सम्पर्कविहीन भयो।

आइतबार बिहान ९ः५५ बजे उनले तारा एयरको जहाज पोखराबाट जोमसोमको लागि उडान भरेका थिए। विमानचालक दलका उनी र कोपाइलट उत्सव पोखरेलसहित तीनजना र अन्य १९ जना यात्रु जहाजमा सवार थिए। तर, उडान भरेको १२ मिनेटपछि जहाज सम्पर्कविहीन भयो। आइतबार बिहानदेखि सम्पर्कविहीन अवस्थामा रहेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍याे। जहाज टुक्राटुक्रा अवस्था छ भने त्यसमा सवार २२ जनाकै मृत्यु भएको छ। दुर्घटनास्थल पुगेर नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृतकको शव निकालेको छ। जहाज सानोसरे भन्ने भिरमा बजारिएको पाइएको छ। भिरमा ठोक्किँदा जहाज छियाछिया बनेको छ।

उडान भर्नुअघि मौसमबारे अपटेड थिए पाइलट
आइतबार बिहान ९ः५५ मा पोखराबाट उडान भर्नुअघि पाइलट घिमिरेले जहाजको सेफ्टी पनि जाँच गराएका थिए। त्यसअघि सोही रुटमा समिट एयरले उडान भरिसकेको थियो। बिहानको बाक्लो कुहिरो पनि बिस्तारै हट्दै थियो। मौसमले साथ दिनेमा उनीसहित चालक दलका सदस्य ढुक्क थिए। मौसम थप खुलेसँगै उनीहरूले पोखरादेखि उत्तरी साइटमा पर्ने जोमसोमको यात्रा तय गरे। तर, उडेको १२ मिनेटपछि जहाज बेपत्ता बन्यो।

उच्च हिमाली भेगमा छिनछिनमा बदलिरहन्छ मौसम। कहिलेकाहीँ झुक्याउँछ पनि। त्यसैले पनि पाइलट घिमिरे आइतबार मौसमी अवस्थाबारे सचेत थिए। आफूले उडान भर्नुअघि उनले आफूभन्दा अघि गएको समिट एयरका पाइलटसँग सम्पर्क गरेर अपडेट पनि लिएका थिए। वरिष्ठ पाइलट घिमिरेले उडान भरेको १२ मिनेटसम्म उक्त जहाज मुस्ताङ विमानस्थलको सम्पर्कमा थियो। त्यसपछि सम्पर्क टुट्यो। जहाज सम्पर्कविहीन भएको केहीबेरमै अग्लो पहाडमा ठोक्किएको हुन सक्ने अहिलेसम्मको अनुमान छ ।

जहाज के–कति कारणले दुर्घटना भयो भन्नेबारे भने यकिन भएको छैन। यद्यपि, कतिपयले जहाज दुर्घटनाको कारण खराब मौसम भएको बताएका छन् । नेपाल एयरलाइन्सका एक पाइटलका अनुसार त्यस क्षेत्रमा बदलिरहने मौसमले झुक्याइरहन्छ। त्यसकारण पनि आफूभन्दा अघि उडान भरेका पाइलटसँग मौसमी अनुकूलता र प्रतिकूलताबारे अपडेट लिने चलन छ। तर, आइतबार पाइलटहरूबीच भएको मौसमबारेको कुराकानी प्रस्ट नभएको हुन सक्ने ती पाइलटले अनुमान गरे। उनी भन्छन्, ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती मौसम र पहाड नै हो, त्यसबारेमा पाइलटहरूबीच समन्वय नभएको हो कि भन्ने अनुमान पनि गर्न सकिन्छ।’

‘ए’ डिभिजन लिगका पूर्वखेलाडीसमेत थिए घिमिरे

दुर्घटनामा परेर ज्यान गुमाएका पाइलट घिमिरे ‘ए’ डिभिजन लिगका पूर्वखेलाडीसमेत हुन्। तारा एयरको पाइलट बन्नुअघि उनी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी टिममा काम गर्दथे । सन् २००५ मा उनले तारा एयरमा जागिर सुरु गरेका थिए। त्यसअघि सन् १९९७ मा उनी अमेरिकामा पाइलट कोर्सका लागि गएका थिए। कोर्स सकिनासाथ उनी नेपाल फर्किएका थिए।

‘मौसमले झुक्याउँदैन भन्न सकिन्न’
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार दुर्घटनामा परेको तारा एयरको जहाजभन्दा अघि उडेको समिट एयरको जहाज करिब १४ हजार फिट उचाइमा उडेको देखिन्छ। तर, सो जहाजपछि उडेको तारा एयरको जहाज १२ हजार पाँच सय फिट उचाइमा मात्रै उडेको देखिन्छ। दुर्घटना भएको स्थानलाई हेर्दा जहाज १४ हजार फिटभन्दा कम उचाइमा उडेको अनुमान गरिएको छ। तर, दुर्घटनाको वास्तविक कारण भने खुलेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जहाजको ककपिट भ्वाइस रेकर्ड (सिबिआर) सुनेपछि त्यसबारे प्रस्ट हुन सक्ने बताए।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले दुर्घटना भएको जहाजबारे व्यवस्थित अध्ययन हुने बताए। उनले जहाज दुर्घटना हुनुको कारण खोतल्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन समिति गठन गर्ने जानकारी पनि दिए। ‘प्रारम्भिक विषयलाई हेर्ने हो भने दुर्घटनाको कारण मौसम पनि हुन सक्यो,’ उनले भने, ‘यसबाहेक जहाजको बडी र इन्जिन पनि दुर्घटनाको कारण हुन सक्छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu