Connect with us
Kapilvast Forest

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी, कक्षा १२ को परीक्षा प्रभावित हुन सक्ने

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।

विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो । साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।

विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरणपछि उच्चस्तरीय समिति गठन भएर दिएको प्रतिवेदनलाई पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणको बोर्डले निर्णय नगरिसकेको तथा नयाँ भाडादर कायम गर्न पूर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरूले पत्र दर्ता गराएका छन् ।

यस्तै कक्षा १२ को परीक्षाका प्रश्न पत्र परीक्षा सुरु हुनुअघि इमेलबाट सम्बन्धित केन्द्रमा पठाइरहेको उल्लेख गर्दै परीक्षा बोर्डले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाएकोमा जुनसुकै बेला इन्टरनेट काटिएर समस्या आउन सक्ने सेवा प्रदायकले चेतावनी दिएका छन् । इन्टरनेट सेवा बन्द हुनुमा आफूहरूको हात नभएको भन्दै सेवा प्रदायकले इन्टरनेटको कारण बेलैमा प्रश्न पत्र नपुगेमा आफूहरू जिम्मेवार नहुने पनि स्पष्ट पारेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu