Connect with us
Kapilvast Forest

फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुन्छ : प्रहरी प्रमुख

२०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बताएका हुन् ।

 

हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताएकी थिइन् । ब्यूरोले ‘तथ्य पुग्दैन’ भनेर फर्काइदिएको उनको गुनासो थियो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरीले जाहेरी लिन्न भन्नै नपाउने बताए । ‘कहिले काहीँ प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आउँछ, साइबर ब्यूरोले जाहेरी लिएन भने माथिल्लो निकाय उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत पनि दिन सकिन्छ, अथवा जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिन्छ’, सिंहले भने, ‘अहिले प्रहरीलाई जाहेरी लिनै पर्ने बाध्यात्मक अवस्था छ, पक्राउ गर्ने नगर्ने भन्ने चाहीँ अनुसन्धानबाट टुंगिने विषय हो ।’

नेपाल प्रहरीको नेतृत्व गरेको एक महिना पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अरु आईजीपी जस्तो छुट्टै प्राथमिकता सार्वजनिक नगर्ने पनि बताए ।

‘मभन्दा अगाडिका प्रहरी प्रमुखको प्राथमिकता नै मेरो प्राथमकिता हो, अर्को हुँदैन’, सिंहले थपे, ‘वस्तुनिष्ठ अनुसन्धान, प्रहरी समायोजनालाई निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै अपराध नियन्त्रण जस्ता नेपाल प्रहरीको प्राथमिकताले नै मेरो नेतृत्वको पनि प्राथमिकता हो ।’

उनले विगतका नेतृत्वले ल्याएका सबै योजना अब्बल भए पनि प्रभावकारी कार्यान्वयनको अभाव भएको बताउँदै आफूले कार्यान्वयनमा ध्यान दिने जनाए ।

‘बाँकी रहेका निर्मला हत्या प्रकरण जस्ता जघन्य अपराधका घटनामा पनि मेरो ध्यान हुनेछ’, उनले भने, ‘प्रहरी संगठनभित्र सरुवा बढुवालाई मेरिट लिष्टको आधारमा अघि बढाइनेछ । ब्याचलाई नै उछिनेर कसैलाई ल्याइनेछैन ।’

पत्रकार सम्मेलनमा सिंहले प्रहरी कर्मचारका लागि घट्दो संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पनि पहल गर्ने बताए । उनले भने, ‘यसका लागि प्रहरीको कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति गठन गरेर पनि काम थालिसकेका छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu