स्थानीय चुनावमा सम्मानजनक गठबन्धन भएन : खनाल
काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक ढंगले गठबन्धन नभएको बताएका छन् ।शनिबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समीक्षा गर्दैछौं’ उनले भने ।
सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मुख्य नेताहरुका कारण त्यो सम्भावना कमजोर रहेको तर्क गरे ।
‘बामपन्थीहरुबीच एकता हुनु चाहिँ वस्तुगत आवश्यकता हो । तर वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भएपनि त्यो सम्भावना चाहिँ कमजोर छ’ उनले भने ।