फोहोरबाट आम्दानी गर्दै पालिका
काठमाडौं-सहर/बजारमा फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ । अझ काठमाडौंलगायतका ठूला सहर फोहोर व्यवस्थापनकै सकसमा रुमल्लिएका छन् । केही स्थानीय तहले भने त्यही फोहोरलाई व्यवस्थापन गरेर आम्दानी पनि गरिरहेका छन् ।
धनकुटा बजारछेउको सल्लेरी वनभित्र फोहोरमैला विसर्जनस्थलमा बनाइएको आकर्षक फूलबारी । तस्बिर : रमेशचन्द्र/कान्तिपुर
धनकुटा नगरपालिकाले बजारछेवैमा बनाएको फोहोर विसर्जनस्थल पुग्दा जोकोही पत्याउँदैनन् । धनकुटा–६ सल्लेरी वनभित्र फोहोर फाल्ने ठाउँमा ४५ प्रजातिका फूल रोपिएका छन् । नजिकै धनकुटा बजार र कचिडे, आत्मारालगायतमा बाक्लो बस्ती पनि छन् तर उनीहरूलाई यो डम्पिङ साइट रहेको आभास नै हुँदैन । यहाँ निजी क्षेत्रको सहकार्यबाट फोहोर व्यवस्थापन गरिँदै आएको हो । नगरपालिकाका वातावरण शाखाका प्रमुख उपेन्द्र खनालका अनुसार यहाँ दैनिक साढे १३ टन फोहोर संकलन गरिन्छ । कुहिने फोहोरलाई एक ठाउँमा राखेर कम्पोस्ट मल बनाई त्यसमाथि माटोले पुरेर फूलबारीमा रूपान्तरण गरिएको छ ।
दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक गरेर फोहोर संकलन गरिँदै आएको छ । नगरपालिकाले हरेक घरबाट वार्षिक ५० रुपैयाँदेखि ३ हजार ६ सय रुपैयाँसम्म फोहोर संकलनबापत कर लिन्छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको फोहोर विसर्जनस्थलमध्ये करिब डेढ रोपनीमा आकर्षक फूलबारी छ । थप दुई रोपनीमा विस्तार थालिएको खनालले बताए । नकुहिने फोहोर बिक्रीबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनले बताए । त्यससँगै यहाँ ३९ जनाले रोजगारीसमेत पाएका छन् । निजी क्षेत्रबाट १४ र नगरपालिकाले २५ जनालाई रोजगारी दिएको हो ।
दैनिक ९ वटा ट्र्याक्टरबाट बजार तथा आसपासका बस्तीको फोहोर संकलन गरिन्छ । फोहोरका रूपमा संकलन हुने फलाम, काँच, प्लास्टिक, विद्युत्जन्य सामग्री, कार्टुन, कागजलगायत ६० प्रतिशत वस्तु छुट्याएर बिक्री गरिने फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक कौशल थापाले बताए । थापा निजी क्षेत्रबाट त्यहाँ सक्रिय छन् । कुहिने र नकुहिने फोहोर घरघरमै छ्ट्युाइने भएकाले सहज बनेको उनको तर्क छ । ‘एक दशकदेखि फोहोर मैलाकै काम गरेर सन्तुष्टिको कमाइ हात पार्दै आएको छु,’ थापाले भने, ‘फोहोरकै आम्दानीले श्रमिकलाई तलब दिइन्छ ।’ नगरपालिकाभित्रका ९ मध्ये ७ हजार घरधुरीबाट फोहोर संकलन गरिन्छ । नगरपालिकाले हरेक घरबाट वार्षिक ५० रुपैयाँदेखि ३ हजार ६ सय रुपैयाँसम्म फोहोर संकलनबापत कर लिन्छ ।
फोहोरले नगर कुरूप देखिन थालेपछि फोहोर विसर्जनको विकल्प खोजिएको थियो । ०६५ मा फोहोरमैला विसर्जन स्थलको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गरी काम अघि बढाइएको थियो । उक्त योजनाले पूर्णता पाएपछि सुरुमा जथाभावी फालिने फोहोरलाई संकलन र व्यवस्थित गर्न थालियो । एउटा ट्र्याक्टरबाट फोहोर उठाउन थालिएको थियो । कुहिने र नकुहिने फोहोर व्यवस्थापनको अगुवाइका लागि नगरक्षेत्रका २ सय ५० जनालाई सचेतनामूलक तालिम दिइएको थियो । यस्तै, कुहिने फोहोरबाट बारी तथा कौसी खेतीमा जोड दिइएको छ । नगरवासीले कुहिने फोहोर तरकारी बालीमै कम्पोस्ट मल बनाएर प्रयोग गर्छन् ।
०६६ देखि ०७० सम्म जम्मा गरिएको फोहोरले जब मलको रूप लियो, त्यसपछि माटोले पुरेर फूल रोप्ने सामान्य काम थालिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी बताउँछन् । आकर्षक गन्तव्य बनेकै कारण लगानीसमेत बढ्दै गएको अधिकारीको भनाइ छ । पूर्वाधारमा ३ करोड रुपैयाँ लगानी भइसकेको छ । वातावरण विभाग फोहोरमैला व्यवस्थापक प्राविधिक सहयोग केन्द्र र नगरपालिकासमेतको ६ करोड रुपैयाँ लगानी भएको छ । ‘पहिले फोहोरको डंगुर थुप्रिएर उराठलाग्दो बनेको थियो,’ उनले भने, ‘जब फूलबारी बनाइयो, अहिले त्यहीं सर्वसाधारणको आकर्षण बढेको छ ।’ धनकुटालाई १० वर्षपहिले नै प्लास्टिकमुक्त सहर बनाइएको थियो । नगरका अन्य स्थानमा सडक किनार आसपासका स्थानमा पनि आकर्षक फूलबारी बनाइएका छन् । एभोकाडो पार्कमा झमक घिमिरेको नाममा विशेष फूलबारीसमेत बनाइएको छ । फोहोर व्यवस्थापन र सरसफाइलाई उच्च प्राथमिकतामा राखिने पुनः निर्वाचित नगरप्रमुख चिन्तन तामाङ बताउँछन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियान चलाइरहेको छ । ०७६ फागुन ३० बाट सुरु भएको यो अभियानले तिलोत्तमालाई मुलुककै नमुना र पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाएको छ । यहाँका हरेक वडा, टोल विकास संस्था र जनसहभागिताले तिलोत्तमाको सफाइ अभियानमा हातेमालो भइरहेको नगरप्रमुख रामकृष्ण खाँणले बताए । ‘विकास भनेको सडक, पुल निर्माण मात्र नभई सरसफाइ पनि पालिका विकासको सूचक हो भन्ने अवधारणाअनुसार काम गरिरहेका छौं,’ खाँणले भने ।
नगरले दुईवटा निजी संस्थासँग साझेदारी गरी फोहोर संकलन तथा व्यवस्थापनको काम गरिरहेको छ । नगरमा अहिले हरेक वडामा ज्यालादारीमा खटिएका ४२ कर्मचारीले दिनहुँ फोहोर संकलन र व्यवस्थापन गर्छन् । सर्वसाधारणमा पनि चोकचोकमा राखिएका डस्टबिनमा फोहोर राख्ने बानी परिसकेको छ । हरेक महिना १ र १५ गते सबै टोल, वडा र गाउँमा सरसफाइ गर्ने नियम बनाइएको छ । नगरपालिकाको वातावरण शाखाका अधिकृत गोरखनाथ खनालले तिलोत्तमा–८ मा ६ बिघा क्षेत्रफलमा निर्माणाधीन फोहोर संकलन केन्द्रमा प्रविधियुक्त उपकरण जडानको काम भइरहेको बताए । त्यहाँ फोहोरको थुप्रोलाई खुम्च्याएर सानो बनाई बिक्री गर्ने, प्लास्टिकजन्य फोहोर छुट्टै बिक्री, कम्पोस्ट मल उत्पादनलगायत काम एकै ठाउँबाट हुने गरी मेसिन जडान भइरहेको खनालले बताए ।
नगरको फोहोर व्यवस्थापनका लागि १ देखि ६ वडासम्म वातावरण सुन्दर नेपाल प्रालिले काम गरिरहेको छ । तिलोत्तमा–५ स्थित तिनाउ खोलानजिकै खाली जग्गामा काम नलाग्नेलाई खाल्टोमा पुरिने र पुनः प्रयोग हुनेलाई कम्पनीको कालीकानगरस्थित सेग्रिगेसन सेन्टरबाट बिक्री गरिँदै आएको कम्पनीका प्रबन्ध निर्देशक बलभद्र पुरीले बताए ।
करैया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोला उकास क्षेत्रमा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले नगरका ७ देखि १७ वडाको फोहोर संकलन गरी त्यसबाट आम्दानीसहित रोजगारी दिइरहेको छ । सहकारीअन्तर्गत ४० जना कर्मचारीले संकलन गरी ल्याएको फोहोर छुट्याएर बिक्री गरिरहेको संस्थाका अध्यक्ष खेम गौतमले बताए । नबिक्ने फोहोर व्यवस्थापन चुनौती भइरहेकाले संयुक्त राष्ट्रसंघ (यूएनडीपी), नगरपालिका र आफूहरूको संयुक्त समन्वयमा पीजीआरपी (प्रोमोटरी ग्रिन रिकभरी प्रोजेक्ट) चलाएर कम्पोस्ट मल बनाउने र पुनः रोजगारीसहित आम्दानीको स्रोत बढाउने काम थालिसकेको उनले जनाए । ‘उक्त प्रोजेक्टको काम अघि बढेको छ,’ उनले भने, ‘बेलर, क्रसर र विकेट मेसिन जोडिसकेका छौं । यी मेसिनले फोहोरलाई धूलो पारी बिक्रीका लागि तयार गर्नेछन् ।’ प्लास्टिकजन्य वस्तुलाई जलाएर पुनः प्रयोगको वातावरण बनाउन विकेट मेसिन प्रयोग गरिने उनले बताए ।
गौतमका अनुसार यसबाट थप अढाई सय जनाले रोजगारी पाउनेछन् भने कम्पोस्ट मल बिक्रीपछि थप आम्दानीसमेत हुनेछ । यससँगै सहकारीले कौसी खेती, मल तयार जस्ता तालिमका लागि वासले ५७ लाख, नगरपालिकाको १ करोड ४३ लाख र यूएनडीपीको १ करोड ४९ लाख रुपैयाँ लगानी गर्नेछ ।
स्मार्ट सिटीको अवधारणामा बढिरहेको स्याङ्जाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै आम्दानी पनि गरिरहेको छ । वालिङले ०७२ बाट फोहोरमैला व्यवस्थापनको अभियान सुरु गरेको हो । फोहोरमैलाका क्षेत्रमा अन्य ठाउँमा निजी क्षेत्रसँगको साझेदारीमा काम भइरहेको तथा पछिल्लो समय नगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए ।
फोहोरमैलाबाटै आम्दानी गर्न थालेपछि यहाँ अहिलेसम्म ५ सयभन्दा बढी स्थानीय तह र संघसंस्था अध्ययन तथा अवलोकनका लागि आइसकेको नगरप्रमुख कृष्ण खाँणले बताए । नगरपालिकाले वालिङ–१ मा बेस्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर (फोहोर प्रशोधन केन्द्र) राखेको छ । फोहोर संकलनका लागि नगरपालिकाले दैनिक दुईवटा ट्र्याक्टर घरदैलोमा पठाउँछ । घरबाट नै कुहिने र नकुहिने गरी फोहोर छुट्याइन्छ । सिसाजन्य फोहोर महिनामा एक पटक संकलन गरिन्छ । फोहोरलाई कुहिने, नकुहिने, दिसाजन्य र सिसाजन्य गरी वर्गीकरण गरिन्छ । नगरका सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेका अनुसार बजार क्षेत्रका वडामा गठन गरिएको सरसफाइ उपसमितिले आफ्ना टोलमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाइकर्मी नियुक्त गरिएको पाण्डेले बताए ।
कुहिनेलाई कम्पोस्ट मल र नकुहिनेलाई वर्गीकरण गरेर बिक्री गरिन्छ । प्रशोधन केन्द्रमै दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याइएको छ । दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि कारखाना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । घरघरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । यहाँ ५ हजार ५ सय रुपैयाँ लिएर नगरले घरको सेफ्टी ट्यांकी सफा गर्दै आएको छ । दिसाजन्य लेदो मेसिनमा राखेर पानी र लेदो छुट्याइन्छ । पानी बालुवामा सोसिएपछि बाँकी लेदोलाई प्लास्टिकमा प्याकिङ गरेर बिक्री गरिने सापकोटाले बताए । उनका अनुसार दिसाजन्य लेदो बेचेर मात्रै डेढ लाख रुपैयाँ आम्दानी भएको छ । वालिङले अहिलेसम्म फोहोरबाट ३० लाख रुपैयाँ आम्दानी गरेको सापकोटाले बताए । ‘व्यवस्थापन राम्रो गर्न सके फोहोर समस्या होइन आम्दानी पनि बन्दो रहेछ,’ उनले भने, ‘यसमा थप सुधार गर्दै अघि बढ्छौं ।’
नगरपालिकाले राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, यूएनडीपी, बिलगेट्स एन्ड मेलिन्दा फाउन्डेसनको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत कारखाना निर्माण गरी सञ्चालनमा ल्याएको हो । बायोग्यास उत्पादन मेसिन र दिसाजन्य लेदो व्यवस्थापनका लागि दुईवटा मेसिन ल्याउन लागिएको सापकोटाले बताए ।