आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र गभर्नरबीच छलफल
काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।बुधबार बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले आगामी आवको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए ।
मन्त्रालयका स्रोतका अनुसार गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।‘बजेटका लक्ष्यलाई प्राप्त गर्ने तर्फ नै मौद्रिक नीति केन्द्रित रहने प्रतिवद्धता गभर्नरको थियो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयका अनुसार छलफलमा अर्थसचिव तथा सहसचिवहरु समेत सहभागी थिए ।
आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसका लागि राष्ट्र बैंकले सरोकारवालाबाट सुझाव समेत संकलन सुरु गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, स्वदेशी उद्योगलाई प्राथमिकता, कृषिमा लगानी वृद्धिको लक्ष्य लिएको छ । यसका माध्यमबाट ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ ।
मुद्रास्फीति समेत ७ प्रतिशत भित्र राख्ने लक्ष्य सरकारको छ । यो लक्ष्य प्राप्त गर्न मौद्रिक क्षेत्राबाट राष्ट्र बैंकले लिने नीतिहरु महत्वपूर्ण हुन्छन् ।