Connect with us
Kapilvast Forest

विद्यार्थीबाट अस्कलका उपप्राध्यापक कुटिए

२०७९, २६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् ।

पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए ।

 

खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा लगेर कुटेको एक विद्यार्थीले बताए । अनेरास्ववियुका विद्यार्थीमाथि दर्ता भएको कीर्ते मुद्दा फिर्ताका लागि दबाव दिन उपप्राध्यापकमाथि कुटपिट भएको हो ।

अनेरास्ववियुका पूर्व इकाइ प्रमुख कमलराज जोशीले बीएससी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते नामावली तयार गरेका थिए । त्यही विषयमा क्याम्पस प्रशासनले कीर्ते मुद्दामा अनेरास्ववियुका जोशीसँगै रुद्रहरि पोखरेलविरुद्ध किटानी जाहेरी दिएको छ ।

 

उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । सोही मुद्दा फिर्ता गराउन उपप्राध्यापक पाण्डेलाई दबाव दिएको तर, उनले कुनै भूमिका नखेलेपछि कुटपिट गरेको एक प्राध्यापकले बताए ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले शिक्षकलाई नकुटेको बरु जोगाउन खोजेको प्रतिक्रिया दिइन् । ‘अरुले हाम्रो अखिलका साथीहरुले कुटेको भन्छन् तर, हाम्रा साथीहरु भने हामीसँग सम्बन्धित सर हो । उहाँलाई सुरक्षा गर्न खोज्दा हामीलाई अगाडि देखाएर साथीहरुले कुटे भन्छन् ।’ शिक्षक कुटेको विषय छानबिन हुनुपर्ने र संलग्नलाई कारबाही गर्न सहजीकरण गर्ने अध्यक्ष बरालले बताइन् ।

विद्यार्थीको कुटपिटमा परेका उपप्राध्यापक अहिले क्याम्पस आउन नसकेको क्याम्पस प्रमुख बरालले बताए । उनले भने ‘अहिले उहाँ शारीरिक, मानसिक पीडामा हुनुहुन्छ । डाक्टरको रिपोर्ट अनुसार बायाँपट्टिको कोखामा गहिरो चोट लागेको छ ।’

उपप्राध्यापकमाथि भएको आक्रमणको अन्य विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

वैशाख ४ गतेदेखि तालाबन्दी

अनेरास्ववियुले ४ वैशाखदेखि क्याम्पस प्रशासनमा ताला लगाएको छ । भवन निर्माण, कक्षा कोठाको अभाव, छात्रवासको समस्या, शौचालय मर्मत सम्भार लगायतको माग राखेर अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

गत भदौमा नियुक्त भएका क्याम्पस प्रमुख बराल माओवादी निकट हुन् । उनलाई असहयोग गर्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । उनी भन्छन् ‘यो भागबन्डाको लफडा हो । क्याम्पस प्रमुखले राजीनामा दिए तत्काल खोल्छन् । विद्यार्थी राजनीति साह्रै अमर्यादित हुँदै गयो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu