अत्यधिक गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरेपनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मंगलबार गरिएको छ ।
अत्याधिक गर्मी र तातो हावा लु ले विद्यार्थी विरामी पर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाले जेठ २७ गतेदेखि ३१ गतेसम्म विदा दिएर पाँच दिन विद्यालय बन्द गरेका थिए ।
तर, अझै पनि गर्मी नघटेको र झन् बढेको देखिएकाले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
नेपालगञ्ज, खजुरा, डुडुवा र कोहलपुरले विज्ञप्ति प्रकाशित गरेर गर्मी घट्नुको साटो झन् बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर हाल दिइएको विदा बढाउँदै असार ३ गतेसम्म कायम गरिएको जनाएका छन् ।
अब विद्यालय असार ५ गते आइतबारबाट सञ्चालन गरिने जानकारी पनि ती स्थानीय तहहरुले गराएका छन् ।
नेपालगञ्जका केही विद्यालयहरुले स्थानीय तहको निर्णय भन्दा अघि नै गर्मीलाई हेरेर असार ३ गतेसम्मका लागि विद्यालय बन्द राख्ने निर्णय गरेर विद्यार्थी र अभिभावकलाई जानकारी समेत पठाइसकेका थिए ।
मनसुन शुरु नभई वर्षा नभएकाले गर्मी झनै बढेर गएकाले आफूहरुले विद्यालय थप केही दिन बन्द गर्न स्थानीय सरकार र विद्यालयलाई आग्रह गरेको नेपालगञ्ज १ का जिवन शर्माले बताउनुभयो ।
उहाँले अहिलेको प्रचण्ड गर्मी र तातो हावामा बालबालिकालाई विद्यालय पठाउन नसकिने अवस्था रहेकाले नै यो आग्रह गरिएकोमा सुनुवाई भएकोमा खुशी लागेको बताउनुभयो ।
यसैबीच, नेपालगञ्जका विभिन्न अस्पताल र क्लिनिकहरुमा गर्मी लागेर विरामी परेका बालबालिका पुग्ने क्रम पनि बढ्दै गएको छ । शुभकामना मेडिकल हलमा क्लिनिक सञ्चालन गर्नुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डा. शकील अहमदले अहिले केही दिनयता अत्याधिक गर्मी बढेका कारण धेरै बालबालिका विरामी भएर आउने गरेको बताउनुभयो । उहाँले पेट दुख्ने, खाना नपच्ने, वान्ता, पखाला र छालासम्बन्धी रोगका विरामी बालबालिका सबैभन्दा बढी आउने गरेको जनाउँदै आफ्ना बाबु नानीलाई गर्मीबाट जोगाउन आग्रह गर्नुभएको छ ।
विद्यालय थप बन्द गर्ने निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिका ।