Connect with us
Kapilvast Forest

छुट्टै भेला गर्ने बाबुराम पक्षको तयारी, यस्ता छन् तीन विकल्प

२०७९, १९ असार आईतवारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटी बैठक बोलाएको समय पारेर भेला गर्ने नेताहरुले बताएका छन् ।

पार्टीमा विवाद चलिरहेका बेला संघीय परिषद् अध्यक्ष डा. भट्टराई र कार्यकारिणी अध्यक्ष यादवबीच गत बुधबार भेट भएको थियो । तर त्यो भेटपछि जसपा फुट उन्मुख छ । अध्यक्ष यादवले मन्त्री हेरफेरको तयारी गरेका छन् भने यही २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

भट्टराई पक्ष भने बैठकमा नजाने तयारीमा छ । डा. भट्टराई स्वयं अब उपेन्द्र यादवसँग मिलेर जान सकिन्न भन्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

शनिबार गोरखा काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पार्टीमा देखिएको समस्याबारे लामो सम्बोधन गरेका भट्टराईले जसपामा उन्नत, समावेशी लोकतन्त्रको अभ्यास नभएको र सानो, क्षेत्रीय र त्यसमा पनि एउटा जातको पार्टी जस्तो बनेको बताएका छन् । उनले भने, ‘अब नयाँ अभियानमा अगाडि बढ्नुपर्छ । आवश्यक पर्दा एउटा भेला नै गरेर अगाडि जानुपर्छ भन्ने सोच छ ।’

‘गल्ती गरियो कि भन्ने लाग्दैन, ठीक समयमा ठीक सुरुवात गरेका थियौं । आज पनि आधारभूत रुपमा हामी आफ्नो सोचमा दृढ छौं,’ उनले भने । तर यो ६ वर्षको अवधिमा दुई ठूला गल्ती भएको भट्टराईको समीक्षा छ ।
सुरुवात ठीक थियो, तर गल्ती भयो

नयाँ संविधान जारी भएपछि माओवादी छाडेका भट्टराईले बनाएको नयाँ शक्ति पार्टीले २०७४ को चुनावमा भाग लियो । तर चुनावमाअपेक्षाकृत नजिता नआएपछि २०७६ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्‍यो । २०७७ वैशाखमा संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता भएपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर वर्ष दिन नपुग्दै यसमा फुट सुरु भयो । २०७७ साउनमा महन्थ ठाकुर समूह अलग भयो भने अहिले डा. भट्टराई नेतृत्वको अर्को समूह अलग हुने तयारीमा छ ।

भट्टराईले भने वैचारिक, दार्शनिक, सांगठिनक, कार्यक्रमका हिसाबले कांग्रेस, एमाले र माओवादीको विकल्प दिनुपर्छ भनेर थालेको अभियान सही भएको बताएका छन् । गल्ती गरियो कि भन्ने लाग्दैन, ठीक समयमा ठीक सुरुवात गरेका थियौं । आज पनि आधारभूत रुपमा हामी आफ्नो सोचमा दृढ छौं,’ उनले भने । तर यो ६ वर्षको अवधिमा दुई ठूला गल्ती भएको उनको समीक्षा छ ।

पहिलो गल्ती : नयाँ शक्ति पार्टी गठन गर्नासाथ चुनावमा जानु गल्ती भएको भट्टराईले बताएका छन् । ‘नयाँ र वैकल्पिक शक्ति बनाउँदा विचारलाई जनतासँग जोड्न अभियान/संघर्षबाट गुज्रिनुपर्थ्यो । जनताका मुद्दा उठाउने, राष्ट्रव्यापी संघर्ष चलाउने र त्यसको बलमा संगठन लोकतान्त्रिक छ भन्ने स्थापित गरेर मात्र चुनावी अभियानमा जानुपर्थ्यो । चुनावी अभियानमा गएपछि वैकल्पिक राजनीतिलाई स्थापित गर्न प्रयोग गर्नुपर्थ्यो’, डा. भट्टराईले भनेका छन्, ‘एक वर्षभित्र चुनाव आयो, हामी सोहोरिएर चुनावतिर दौडियौं । अहिले नै चुनाव जितिन्छ, अहिले नै सरकारमा पुगिन्छ भने जस्तो पर्‍यो ।

पूर्वप्रधानमन्त्रीले नेतृत्व गरेको, विकास र समृद्धिको छवि भएको पार्टी राष्ट्रिय पार्टी बनिहाल्छ भनेर अनेकथरी मान्छेहरु आएको र आफूहरुलाई पनि भ्रम परेको भट्टराईले बताए । जित्छु भन्ने डंका पिटेर जानु र जित्नका लागि जोसँग पनि मिल्नु गल्ती भएको भन्दै उनले भने, ‘यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ, हामी सबैले लिनुपर्छ ।’

दोस्रो गल्ती : सुरुमा संघीय समाजवादी फोरम र त्यसपछि राजपासँग एकता गर्दा पार्टीको आधार ठूलो भएपनि वैकल्पिक धारमा रुपान्तरण गर्न नसक्नु अर्को कमजोरी भएको उनले बताए । भट्टराईले भने, ‘मलाई पश्चाताप त छैन, तर केही गम्भीर त्रुटि भए ।’

वैकल्पिक राजनीतिक सोच राख्नेहरुको बाहुल्य नभएसम्म रुपान्तरण गर्न नसकिने भएपनि पार्टी एकता गर्दा बढी आदर्शवादी भएको उनले बताए । यसरी नै चल्ने हो भने जसपा यथास्थितिवादी अर्को एउटा शक्ति मात्र बन्ने भन्दै डा. भट्टराईले अघि भनेका छन्, ‘यसलाई लिएर गन्तव्यमा पुग्दैनौं । जुन खालको सोच छ, संरचना छ र जुन खालको प्रवृत्ति हावी छ, यही भित्र बसेर रुपान्तरण गर्न सक्ने म देख्दिनँ ।’

अब बाटो : तीन विकल्प

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईका अनुसार पार्टीका नेताहरुमा तीन खालको मनोविज्ञान छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको भर्‍याङ चढेर शिखरमा पुगेको पुस्ता, मन्त्री, सांसद भएर त्यहीँ बस्न चाहन्छ । आधा चढेको पुस्ता पनि त्यसबाटै अघि बढ्ने कि झरेर अर्को सिँढी चढ्न्ने भन्ने अलमलमा छ । नयाँ पुस्ता सिँढी चढ्न चाहन्छ, तर कसरी भन्ने प्रष्ट योजना छैन । उनले अघि भने, ‘यसले गर्दा कतिपयमा नहुने भयो, जताबाट आएका हौं, उतैतिर जाऔं भन्ने भाव पाउँछु ।’

वैकल्पिक र नयाँ ढंगले सामूहिक नेतृत्व र पारदर्शिता आफूहरुको बटम लाइन भएको उनले बताए । पुरानो पार्टीहरुमा त्यो सम्भव नभएको भन्दै भट्टराईले भने, ‘पुरानो भनेको पुरानो हुँदोरहेछ, चुनावी आधार क्षेत्र छ, ५/७ वटा सिट जितेको छ । अनि हामी नै नयाँ हो, हामी नै विकल्प हो भन्ने पर्दोरहेछ ।’

डा. भट्टराईले आजीवन वैकल्पिक राजनीतिको अभियानलाई छोडर नभाग्ने प्रतिवद्धता जनाएका छन् । यद्यपि अगाडि बढ्ने बाटोमा तीन वटा विकल्प सुनाए ।

पहिलो, कम्युनिस्ट घटकहरुले हिजोको जडतालाई छोडेर नयाँ ढंगले आउँछन् भने समाजवादी केन्द्र बनाउने । यसका लागि हिजो पनि प्रयत्न गरेको र अहिले पनि भइरहेको भन्दै उनले भने, ‘तर के हुन्छ भन्न सक्दिनँ ।’

दोस्रो, वैकल्पिक राजनीति भन्ने पक्षहरुसँग सहकार्य गरेर नयाँ धार सिर्जना गर्ने ।

तेस्रो, छुट्टै अस्तित्वसहित अभियान अघि बढाउने र अरुसँग सहकार्य गर्ने । भट्टराईले भनेका छन्, ‘यस्ता दुई तीनवटा बाटाहरु छन्, यसमा हामी खुला हुनुपर्छ । तर देशले नयाँ विकल्प खोजेको छ । यसमा हामीले आँट गर्नुपर्छ ।’

जनता समाजवादी पार्टी डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी वैकल्पिक राजनीति

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu