वरिष्ठ अधिवक्ताको उपाधि यसैसाता दिइने
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लामो समयदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी विषय यसै साता टुङ्गिने बताएका छन् । सोमबार कामु प्रधानन्यायाधीशसँगको भेटपछि अध्यक्ष घिमिरेले वरिष्ठ अधिवक्ता सम्बन्धी निर्णय यसै साता हुने बताएका हुन् ।
सोमबार कामु प्रधानन्यायाधीशसँग नेपाल बार एसोसिएसनका केही पदाधिकारीले भेटघाट गरेका थिए । भेटघाटका क्रममा बारले वरिष्ठ अधिवक्ताको उपाधिका सम्बन्धमा भएका प्रगति र रोकिनुको कारणबारे जानकारी माग गरेका थिए । जवाफमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठ अधिवक्ताको उपाधि सम्बन्धमा यसै साता निर्णय गर्ने जानकारी दिनुभएको अध्यक्ष घिमिरेले रातोपाटीलाई बताए ।
वरिष्ठ अधिवक्ताको उपाधि दिनेसम्बन्धी ऐनको व्यवस्थामा यसअघि १५ वर्षसम्म निरन्तर वकालत गरेको व्यक्ति हुनुपर्ने भएपनि अहिले भने २५ वर्ष बनाइएको बारको महासचिव अञ्जिता खनालले बताइन् । खनालका अनुसार लामो समयदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधि यसै साता दिने गरी काम गरिरहेको जानकारी कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई दिएका हुन् ।
यसअघिको बारको कार्यसमितिले नै वरिष्ठ अधिवक्ताका उपाधिका लागि मापदण्ड विपरीत सिफारिस गरेको भन्दै वर्तमान बारका पदाधिकारीले आपत्ति जनाएका थिए । पुनः सिफारिस गरिनुपर्ने र मापदण्ड विपरीतका सिफारिस रद्द गरिनुपर्ने माग भएपनि यस विषयमा कामु प्रधानन्यायाधीश कार्कीले चासो नदेखाएको महासचिव खनालले बताइन् ।