Connect with us
Kapilvast Forest

बाबुराम भट्टराईले सङ्कलन गरेको हस्ताक्षरको के छ औचित्य ?

२०७९, २१ असार मंगलवारमा प्रकाशित

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद अन्तिम विन्दुमा गएर अड्केको छ । अन्तिम निर्णय लिनका लागि दुवै पक्ष (उपेन्द्र यादव पक्ष र बाबुराम पक्ष) ले छुट्टा छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बैठक बोलाएका छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौँमा समानान्तर बैठक डाकेका छन् । बैठकबाट दुबै समूहले आफ्नो आगामी रणनीति तय गर्नेछन् ।

विवाद सुरु हुँदा परिषद्का अध्यक्ष भट्टराईले जसपाभित्र केन्द्रीय सदस्य तथा सांसदहरुको हस्ताक्षर सङ्कलन गरेका थिए । ती सबै हस्ताक्षर अध्यक्ष भट्टराईसँग अझै सुरक्षित छ । बाबुरामको पक्षमा हस्ताक्षर गरेका एकजना सांसदले भने, ‘मल्टीप्रपोजका लागि त्यो हस्ताक्षर सङ्कलन गरिएको थियो, त्यसको प्रयोग अहिले पनि हुनसक्छ ।’ हस्ताक्षर गर्ने ठाउँमै पार्टीभित्र जुनसुकै प्रयोजनका लागि त्यसलाई प्रयोग गर्न सकिने उल्लेख गरिएको तीन सांसदको जनाएको छ ।

स्थानीय चुनावअघि सुरु गरिएको हस्ताक्षर हस्ताक्षर सङ्कलन चुनाव पछि पनि जारी थियो । बाबुराम पक्षमा लागेका नेताहरूले तयार पारिएको खाका अनुसार नै हस्ताक्षर सङ्कलन गरिरहेका थिए । स्रोतका अनुसार बाबुराम पक्षले अहिलेसम्म २३६ जना केन्द्रीय सदस्यको हस्ताक्षर सङ्कलन गरेको छ । जसपाको केन्द्रीय समिति सदस्य सङ्ख्या ५०७ रहेका छन् । हाल ४९९ जना केन्द्रीय सदस्य छन् । ४९९ जना केन्द्रीय सदस्यमध्ये २६३ जना अध्यक्ष उपेन्द्र यादवको पक्षमा छन् ।

यता बाबुराम भट्टराई पक्षका एक नेताले भने आफूहरूसँग ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद रहेको दाबी गरे । ‘यदि पार्टी नै फुटाउनु थियो भने उहिले नै फुटाई सकेका हुन्थ्यौँ,’ उनले भने, ‘तर हामीले त्यो चाहेनौँ, बहुमत देखाएर उपेन्द्रजीमाथि दबाब दिएर पार्टीलाई सुधार गर्ने हाम्रो चाहना थियो । तर उपेन्द्रजीले त्यसलाई कमजोरी ठान्नुभयो ।’

मन्त्री बनाएपछि बाबुरामको पक्षमा हस्ताक्षर गरेका र नगरेका केही नेता उपेन्द्र पक्षमा गएका छन् । तर मन्त्री हेरफेर अघिसम्म उपेन्द्र यादव पक्षमै रहेका केही सांसद र केन्द्रीय सदस्य अहिले असन्तुष्ट भएर बाबुरामको सम्पर्कमा आएका छन् ।

अब असार २९ र ३० गते बाबुराम पक्षले बोलाएको केन्द्रीय समितिको बैठकमा सो हस्ताक्षरको प्रयोग हुने बताइएको छ । ‘बैठकमा पार्टीमा देखिएको पछिल्लो विवाद र आगामी रणनीतिको बारेमा छलफल हुन्छ । बैठकमा उपस्थितको रायसहित हस्ताक्षर त्यहाँ पनि सङ्कलन हुन्छ जो बैठकमा उपस्थित हुँदैनन्, उनीहरुले पहिला गरेको हस्ताक्षरलाई आधार मानेर निर्णयमा जान सक्छौँ,’ बाबुराम पक्षका एक नेताले बताए ।

जसपाका कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘पार्टीलाई बलियो बनाउने सुदृढ बनाउने उद्देश्यले हस्ताक्षर सङ्कलन भएको थियो, पार्टी फोड्ने वा अर्को पार्टी बनाउने उद्देश्यले होइन । तर गलत प्रचार भयो ।’

पार्टीका बैठकहरूमा जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम पक्षले उठाएको कुरामा दम नभएको र यसलाई डा. भट्टराईले मात्र उठाएको भन्ने टिप्पणी गर्थे । सिंहका अनुसार त्यही कुराको जवाफ दिनका लागि हस्ताक्षर सङ्कलन गरिएको थियो । बाबुराम भट्टराईले जुन कुरा उठाइरहेका छन्, ती कुरामा बहुमत सदस्यहरूको सहमति रहेको कुरा उपेन्द्रलाई देखाउन हस्ताक्षर सङ्कलन गरिएको उनको जिकिर छ ।

कमेन्ट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu