Connect with us
Kapilvast Forest

जुवा खेल्न उक्साएर मिटर ब्याज

२०७९, ४ श्रावण बुधबारमा प्रकाशित

विर्तामोड- जुवा खेल्न उक्साउने र उक्साहटमा परेपछि तिनैलाई मिटर ब्याज (चक्रवृद्धि ब्याज)मा पैसा लगाउने गरेको घटना सार्वजनिक भएको छ । यस्तो आपराधिक कार्यमा एउटा समूहले चेक काट्न लगाएर चेक अनादर (बाउन्स) गर्ने र असुल्नका लागि अपहरण, कुटपिटसमेत गर्ने गरेको अवस्था पार्ईएको छ ।

झापा गाउँपालिका–३, सिमलवाडीका ४० वर्षीय अशोक राईलाई चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समूह नै बिहान घरमा राईलाई पक्रन आएपछि गाउँलेसँग झडप नै भएको थियो ।

झडपपछि पक्राउ गर्न आउने दमक–५ का विशाल पौडेल सामान्य घाइते समेत बनेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक भीम श्रेष्ठ नेतृत्वको सिभिलमा आएको टोली र रकम लिने समूह शनिबार बिहान राईको घरमा बिहान ४ बजेको समय पुगी जबरजस्ती राईलाई लैजान खोजेपछि घरपरिवार र स्थानीयले प्रतिकार गरेको राईका पिता दीपक राईले जानकारी दिनु भयो ।

दमकमा अवैध रूपमा जुवाघर सञ्चालन गर्ने पूर्णप्रसाद रिजालले आफूलाई घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर ब्याज जोडेर असुलेको पीडित राईले बताउनुभयो । आफूले साँवा र ब्याज रकम तिरिसक्दासमेत थप आठ लाख रुपियाँको चेक दमकको होटल हाइवेमा लगेर काट्न लगाएको दाबी पत्रकार सम्मेलनमा पीडित अशोक राईले बताउनु भयो ।

रिजालको समूहले पहिला पिटेर कानको जालीसमेत फुटाइदिएको र पछि जबरजस्ती आठ लाखको चेकमा सही गर्न लगाएको समेत राईले बताउनुभयो । जुवा सञ्चालकको कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेका बेला तिरिसकेको रकमको समेत चेक बाउन्स गरेर प्रहरीसमेतलाई आर्थिक प्रभावमा पारी राति घरमै नियन्त्रणका लागि आएको दाबी राईकी श्रीमती कमला लिम्बूले भन्नु भयो ।

दमकका पूर्णप्रसाद रिजाल, सोम खनाल, कमल खनाल, दुर्गा पौडेललगायतले खेलाएको जुवा खालबाट आफूले तीन वर्षभित्र पाँच करोडभन्दा बढी रकम गुमाएको राईले बताउनुभयो । त्यसको प्रमाणस्वरूप उहाँले दमकमा रहेको घर डेढ करोडमा र कनकाई नगरपालिका–३ मा रहेको दुई कट्ठा, झापा गाउँपालिका–३ मा रहेको एक बिघा जमिनसमेत बिक्री गरेको उहाँले बताउनु भयो ।

सो गिरोहले सुरुमा जति पनि पैसा सापटी दिने र पछि प्रहरीसमेतको संलग्नतामा महँगो ब्याज जोडेर चेकमा सही गर्न लगाउने गरेको पाइएको छ । जुवा खेलाउने गिरोहसँग प्रहरीको राम्रो साँठगाँठसमेत रहने गरेको जानकारहरूको बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका–३ सिमलवाडीमा अपहरण शैलीमा बिहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ ।

यसबारे इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलीप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक बाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताउनुभयो । प्रहरीले स्थानीय प्रहरीसँग सञ्चार सेटबाट समन्वय गरेको समेत गिरीले बताउनुभयो ।

झापामा पछिल्लो समय जुवा र मिटर ब्याजीको गिरोहका कारण सयौँ घरपरिवार बिचल्लीमा परिसकेको राई परिवारले बताएको छ । आफूसँग भएको सबै सम्पत्ति सकिँदा पनि अझै चेक बाउन्स भनेर दुःख दिने काम भइरहेको गुनासो परिवारको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu