Connect with us
Kapilvast Forest

वर्षा लाग्यो खोलाकै पीर

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

घोडाघोडी- कैलाली घोडाघोडी नगरपालिका–२ मा रहेको बौराहखोलाले गत असोजमा बगाएको काठेपुल पुनर्निर्माण नहुँदा वर्षाका बेला स्थानीय समस्यामा परेका छन् ।

वर्षाको बेला घोडाघोडी नगरपालिका–८, ६ र २ का स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । वडा नम्बर २ का स्थानीय कृष्णबहादुर विष्टले पुरानो काठेपुल जीर्ण भएको र भत्किएको पुलको पुनर्निर्माण नहुँदा समस्या भएको जानकारी दिनुभयो ।

हिउँदमा खोलामा पानी कम भएका कारण जेनतेन स्थानीयले वारपार गर्दै आए पनि वर्षा लागेसँगै खोला कसरी तर्ने भन्ने पिरलो पर्ने गरेको विष्टले बताए।

तीनवटा वडाका बासिन्दा आवतजावत गर्ने पुल भत्केपछि स्थानीय सरकार र प्रदेश सरकारलाई स्थानीयले ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको विष्टले गुनासो गर्नुभयो।

बौराहखोलामाथि बनेको अर्को घोडाघोडी नगरपालिका–८, तारानगरस्थित काठेपुलसमेत जीर्ण बनेको छ। जीर्ण काठेपुल भएर नै स्थानीय आवतजावत गर्ने मात्र होइन, खोलापारि विद्यालय भएकाले विद्यार्थीसमेत सोही पुल तरेर विद्यालय जाने आउने गर्छन् ।

साइकल मोटरसाइलसमेत सोही पुल माथिबाट लगिने गरिएकाले पुल कति बेला भत्किने हो भन्ने डरैडरसाथ खोला पार गर्नुपर्ने स्थानीयले बाध्यता सुनाए।

घोडाघोडीमा बौराहखोलामा रहेका यी दुईवटा काठेपुलसँगै डोडाखोला र कौवाखोलामा पुल नहुँदा र भएका काठका पुल पनि पुराना र जीर्ण भई भत्किएपछि त्रासैत्रासमा स्थानीय आवतजावत गर्न बाध्य छन् । सरकारले जनताको आवतजावतलाई सहज बनाउन पक्कीपुल निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ । स्थानीय सरकार, प्रदेश सरकारले चार वर्षको अवधिमा घोडाघोडीमा चारवटा पक्कीपुल र छवटा झोलुङ्गेपुल निर्माणकार्यलाई अन्तिम रूप दिँदै छ ।

घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले नगरपालिकामा थप पाँचवटा काठेपुल हटाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

घोडाघोडी नगरपालिकामा सङ्घ र प्रदेश सरकारको विशेष र समपूरक अनुदानमा पक्कीपुल तथा झोलुङ्गेपुल निर्माण हुँदै आएको योजना शाखाले जनाएको छ। सोही पालिकाबाट प्रदेश सभामा निर्वाचित भएर हाल सुदूरपश्चिम आर्थिक मामिला तथा योजना राज्यमन्त्री अमरबहादुर साउदले आफ्नो कार्यकालमा नगरमा भएका काठेपुल हटाएर जनतालाई आवतजावतमा सहज बनाउने उद्देश्य राखेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको सहयोगमा बौराह, डोडा र कौवाखोलामा थप चारवटा पक्कीपुलको काम गत आर्थिक वर्षको अन्तिममा अगाडि बढेको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नम्बर ८ को तारानगर, २ को साँडेपानी काउ फर्मनजिक, वडा नम्बर ५ मा नारायणपुर सरैया जोड्ने पुल र राजीपुर पच्घरा जोड्ने पुलका लागि टेन्डर गत वर्ष नै भइसकेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत यस वर्ष पनि बजेट थप भएको छ, निर्माणकार्यले चाँडै पूर्णता पाउने जनाइएको छ । राज्यमन्त्री साउदका अनुसार घोडाघोडीमा थप कौवा र मैतुवा गाउँ जोड्ने पुल र सिरानगर र जोकाह जोड्ने पुलको आवश्यकता छ । उल्लिखित स्थानमा पक्की पुल निर्माण पूरा भएपछि काठेपुल विस्थापित हुनुका साथै घोडाघोडीका स्थानीयलाई आवागमनमा सहजता हुने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu