करेन्ट लागेर महिलाको मृत्यु
नेपालगञ्ज- बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको जनाउनु भयो । घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन उहाँले बताए ।
प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले बताउनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनु भएको हो ।