शिलान्यासको १२ वर्षपछि पुल बन्दै
रौतहट — नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो ।
रौतहटको भगवती गाउँपालिका–५ स्थित निर्माणाधीन पुल । फाइल तस्बिर : कान्तिपुर
निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले वाग्मती नदीको पूर्वक्षेत्रमा माटोको काम भइरहेको छ । ‘पुलको भार थेग्न सक्ने/नसक्ने भन्ने डिजाइनका लागि कन्सल्टेन्टलाई जिम्मा दिएका छौं । ढिला भए पनि अब काम रोकिँदैन,’ उनले भने । २२४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित पुल
निर्माणका लागि महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सकारेको निर्देशनालयले जनायो । ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेको हो । पुलको चौडाइ ६ मिटरबाट बढाई ७ बनाउने तयारीमा निर्देशनालयले कन्सल्टेन्टलाई भार थेग्न सक्ने/नसक्ने भन्ने यकिन गर्न जिम्मा दिएको छ ।
मधेसका सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत पुल बनाउन थालिएको थियो । निर्माणकै क्रममा पुलभन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको निर्देशनालयले जनाएको छ । लामो समयसम्म निर्माण कम्पनी र निर्देशनालयबीच काम थाल्न छलफल भए पनि सहमति भएन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएको र लामो समयसम्म निर्देशनालयले साइट उपलब्ध गराउन नसकेकाले एकतर्फी ठेक्का तोडेको जानकारी गराए । तत्कालको अवस्थाभन्दा निर्माण सामानको भाउ अकासिएकाले पुरानै दरमा काम गर्न नसक्ने उनको भनाइ थियो ।