विश्वविद्यालयमा फेरि तालाबन्दी
काठमाडौँ-परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।
पछिल्लो समय नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको छ ।
गत असार २७ गते लगाइएका ती ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भएको छैन । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएका छन् ।
यसअघि त्रिविका उपकुलपति, रजिष्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घ र शिक्षकहरूले १४० दिन ताला लगाएका थिए । उक्त तालामध्ये नेविसङ्घले गत जेठ २७ गते र आंशिक शिक्षकले जेठ २९ गते खोलेका थिए ।
तालाबन्दीका कारण कार्यालय छिर्न नपाएपछि रजिष्ट्रार प्राध्यापक डा. पेशल दाहाल कहिले शिक्षाध्यक्षको कार्यालय र कहिले कार्यकारी परिषद्को कार्यालय गएर दैनिक सामान्य काम गर्दै आउनुभएको छ । ताला लागेका अन्य कार्यालयका प्रमुखले पनि दैनिक कार्य सञ्चालन गर्न पाउनुभएको छैन ।
व्यवस्थापन सङ्कायका डिन प्राध्यापक डा. कुसुम शाक्यले तालाका कारण दैनिक प्रशासन सञ्चालन भए पनि खुलाउने विषयमा आन्दोलनकारीसँग छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या त्रिवि नेतृत्वबाटै समाधान हुनुपर्छ । ताला खुलाउने वा परीक्षामा अमर्यादित काम गर्नेलाई कारबाही गर्ने विषयमा मेरो कसैसँग पनि छलफल भएको छैन ।”
मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन सङ्कायको डिन कार्यालयले सञ्चालन गरेको स्नातक तथा स्नातकोत्तर तहको परीक्षाको प्रश्नपत्र निर्माणमा लापरवाही गर्नेलाई कारबाही हुनुपर्ने माग विद्यार्थीको छ । साथै यस सम्बन्धमा अध्ययन गर्न गठन भएका समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि उनीहरूको माग छ ।
यसअघि प्रश्नपत्र निर्माणमा लापरवाही गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको थियो ।
त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको अर्गनाइजेसन विहेविअर विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गरेको थियो ।