विकासमा कोही बाधक नबनौं : मन्त्री राई
बाँके- भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले स्थानीय विकासमा कोही बाधक बन्न नहुने बताउनुभएको छ । नेपालगञ्जको धम्बोझी चोकमा शनिबार रत्न राजमार्ग अन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति र सडक बत्ती तथा जमुनाह– कोहलपुरमा पैदल यात्रु आकाशे पुलको शिलान्यास गर्दै मन्त्री राईले सो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, “विकासको विरोध गर्दै जातजाती, भाषाभाषी र सम्प्रदायको नाममा राजनीति गर्नेहरुविरुद्ध जनता सचेत भइसकेका छन् ।” मन्त्री राईले नेपालगञ्जमा भर्खरै शिलान्यास भइरहेका नयाँ योजनाहरु बजेट सनिश्चित भएपछि मात्रै टेण्डर प्रक्रियामा गएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य, समन्वय र सहयोगमा मन्त्रालयले पछिल्ला विकास निर्माणका योजना अघि बढाएको मन्त्री राइले बताउनुभयो ।
नेपालगञ्ज चिनाउने ब्यक्तिहरु फत्तेजंग शाह, मंगलप्रसाद, अवतारदई चौधराईनको पहिचान जरुरी भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालगञ्जमा शिलान्यास भएका योजनाको निर्माण कार्य पूरा हुने बताउनुभयो ।