Connect with us
Kapilvast Forest

अलविदा प्रदीप गिरी,निभ्यो राजनीतिक निष्ठाको दियाे

२०७९, ५ भाद्र आईतवारमा प्रकाशित

काठमाडौ -नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममामा शनिबार साझ ७५ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उहाँलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो। उहाँ सो अस्पतालमा साउन ८ गते भर्ना हुनुभएको थियो। नेपाली कांग्रेस संसदीय दलले शनिबार राति उहाँको निधन भएको पुष्टि गरेको हो। कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिबार राति ९ : ३० बजे निधन भएको जानकारी गराउनुभएको हो ।

सचेतक विश्वकर्माका अनुसार आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा राखिने छ ।

दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ । कांग्रेस संसदीय दलका सचेतक विश्वकर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ’, संसदीय दलले सार्वजनिक गरेको शोक वक्तव्यमा भनिएको छ ।

नेता गिरीका बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय हुनुहुन्थ्यो। बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गर्नुभयो। लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उहाँ झण्डै चार वर्ष जेल बस्नुभयो।

वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाउनुभएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको छ। जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

निष्ठाप्रति सदा अटल

नेपाली राजनीतिमा निष्ठावान राजनीतिज्ञ हुनुहुन्थ्यो प्रदीप गिरी। उहाँले १४–१५ वर्षको उमेरदेखि नै राजनीतिक अभियान सुरु गर्नुभयो। नवीन नेपाल निर्माणको सङ्कल्प र दृष्टिकोणमा खरो उत्रने नेता गिरी पाको पुस्तादेखि युवासम्म लोकप्रिय हुनुहुन्थ्यो।

सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरी वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा सिराहबाट विजयी हुनुभयो। तर, आफ्नो विजयलाई अहङ्कारका रुपमा लिनुभएन।

चुनाव जितेलगत्तै उहाँले भन्नुभयो, “मैले ल्याएको मतभन्दा मेरा प्रतिस्पर्धीहरूको मत धेरै छ। नेकपा एमाले र अन्य उम्मेदवारको मत जोड्दा म पराजित हुन्छु। यो प्राविधिक जीत मात्रै हो। यसमा धेरै घमण्ड गर्नुहुँदैन।”

उहाँको सम्बोधनका दौरान व्यक्त गर्नुभएको यो मन्तव्य त्यति बेला निकै चर्चित भयो। लोकतन्त्र प्राप्तिपछि पनि उहाँले आफ्नो निष्ठावान राजनीतिक लडाइँ जारी राख्नुभयो।

उहाँको स्वास्थ्य उपचारको जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललगायतका व्यक्तित्व अस्पताल पुग्नु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu