Connect with us
Kapilvast Forest

गौतमबुद्धसहित तीन विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प

२०७९, २५ भाद्र शनिबारमा प्रकाशित

ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै आन्दोलन जारी राखेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन् ।

ट्यांकर व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले ताकेको अत्यावश्यक सेवा अन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न । तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ ।

निगमको धनगढी र नेपालगञ्ज डिपोले सबै हवाई इन्धन सेवा प्रदायकलाई अत्यावश्यकता बाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न पत्राचार गरेको छ । निगमको यस्तो व्यवहारले आफूहरु मार्कामा परेको आन्तरिक हवाई उडान कम्पनीहरुले जनाएका छन् ।

निगमको धनगढी डिपोकाअनुसार आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई यस्तो सूचना जारी गर्नु परेको जनाएको छ ।

सामान्य अवस्थामा दैनिक १० हजार लिटर हवाई इन्धन बिक्री गर्ने डिपोले अहिले हवाई इन्धन बिक्री गर्न नसकेको डिपो प्रमुख गणेश जोशीले बताए । ‘एक सातादेखि हड्ताल जारी छ,’ हामीसँग अत्यन्तै कम मात्रामा मात्रै इन्धन छ, आपत्कालीन अवस्थामा मात्रै दिन सक्छौं ।’

नेपालगञ्जबाट एउटा ट्यांकरमा तेल ल्याउन गरिएको प्रयास समेत व्यवसायीले रोकेको पनि डिपोले जनाएको छ । यता नेपालगञ्ज डिपोले पनि हवाई सेवा प्रदायकलाई काठमाडौंमै इन्धन भर्न सूचना जारी गरेको जनाएको छ । डिपोमा व्यवसायीहरुले १९ गतेदेखि आपूर्ति रोकेको डिपो प्रमुख शिव आचार्यले बताए । अहिलेलाई ६ दखि ७ दिनलाई पुग्ने इन्धन छ, आपूर्ति ठप्प छ,’ आचार्यले भने, ‘लखनउबाट यस क्षेत्रमा हवाई इन्धन ढुवानी हुन्थ्यो जुन अहिले रोकिएको छ ।’

ढुवानी वयवसायीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हवाई इन्धनको ढुवानी रोकेको निगमको प्रादेशिक कार्यालयले जनाएको छ । दैनिक १५ देखि २० हजार लिटर हवाई इन्धन खपत गर्ने विमानस्थलमा अहिले आपूर्ति ठप्प भएको निगमका लुम्बनी प्रदेशिक डिपो प्रमुख नवविनोद पोख्रेलले बताए ।

‘हिजोसम्म एक लाख ८५ हजार लिटर इन्धन मौज्दात थियो, यसले एक सातालाई धान्ला,’ पोख्रेलले भने, ‘ढुवानी रोकिनुमा व्यवसायीको आन्दोलन र रक्सौलबाट लखनउमा सारिएको रुटमा प्रमिट नहुनु रहेको बुझिएको छ ।’

व्यवसायीसँग पटक-पटक ढुवानी भाडा बढाउन सम्झौता गरेको आयल निगम केन्द्रीय कार्यालय भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन मानेको छैन ।

ढुवानी व्यवसायीले हवाई इन्धनको आपूर्ति रोकेको भन्दै आयल निगमले धनगढी र नेपालगञ्ज उड्ने जहाजलाई काठमाडौंबाटै तेलको जोहो गर्न पत्राचार गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए ।

‘निगमको धनगढी र नेपालगञ्ज हवाई इन्धन डिपोले वायुसेवा कम्पनीहरुलाई अत्यावश्यक अवस्थामाबाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै इन्धन बोकेर उडान गर्न पत्राचार गरेको छ,’ सूचना अधिकारी कर्णले भने, ‘यसका कारण हवाई इन्धन ढुवानी गर्ने ट्यांकर व्यवसायीले १७ भदौदेखि हवाई इन्धनको आपूर्ति नगरेको उल्लेख छ ।’

कर्णकाअनुसार नेपालका दुई अति व्यस्त विमानस्थलमा काठमाडौंबाटै हवाई इन्धन बोक्नु पर्ने सर्कुलरले विमान कम्पनीहरु र यात्रुलाई थप आर्थिक भार पर्नेछ । अतिरिक्त मात्रामा इन्धन बोक्दा काठमाडौंबाट हुने उडानमा यात्रु संख्या र कार्गो कटौती गर्नु पर्ने र यसले सञ्चालन खर्च, भाडा दुवैलाई हानी पुर्‍याउने कर्णले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu