Connect with us
Kapilvast Forest

पहिलो कार्यकाल सफल : मुख्यमन्त्री

२०७९, ४ आश्विन मंगलवारमा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई सक्षम, सुन्दर र समृद्ध प्रदेश बनाउने अभियानमा प्रदेश सरकारको पहिलो पाँचवर्षे कार्यकाल सफल भएको बताउनुभएको छ।

प्रदेश सरकार स्थापनाको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले चारवटा गौरवका आयोजना शुभारम्भ गरेको जानकारी दिँदै मुख्यमन्त्री केसीले यी आयोजनाले प्रदेशको मुहार परिवर्तन गर्ने उल्लेख गर्नुभयो।

सातौँ संविधान दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकार स्थापनाको पाँच वर्षको बीचमा प्रदेशका लागि आवश्यक ७२ कानुन निर्माण गरेको बताउनुभयो। तीमध्ये १२ वटा कानुन प्रदेश सभामा प्रस्तुत भइसकेका छन्। प्रदेशको स्थायी राजधानी दाङ देउखुरी उपत्यकामा निर्माणका लागि गुरुयोजना निर्माणको काम सम्पन्नपछि पारितसमेत भइसकेको जानकारी पनि उहाँले दिनुभयो।

पाँच वर्षको अवधिमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणको काममा महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको र विकासको यो रफ्तारले प्रदेश र प्रदेशवासी जनताको मुहारमा परिवर्तनमा ल्याउन सफल भएको विश्वास उहाँले व्यक्त गर्नुभयो। “जनताको रगत, पसिना र श्रमको त्याग र बलिदानीबाट प्राप्त संविधान असफल बनाउने प्रयास भइरहेको छ, त्यस्ता प्रयासलाई नेपाली जनताले एकजुट भएर विफल बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

देशका अन्य प्रदेशहरूभन्दा लुम्बिनी प्रदेश हरेक दृष्टिले अगाडि रहेको चर्चा गर्दै मुख्यमन्त्री केसीले भन्नुभयो, “यो प्रदेशसँग हिमाल, पहाड र तराई तीनवटै भौगोलिक विविधता छ।”

उहाँले संविधान दिवसका अवसरमा संविधानको रक्षा, कार्यान्वयन र सबलीकरणका लागि आगामी दिनमा अझै सशक्त भएर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा संविधान दिवस सम्पन्न गरिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu