बिक्न छाड्याे मादल,साउण्ड सिस्टमले बिगार्याे बजार
बागलुङ – ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो।
बाबुबाजेबाट सिकेको सिपले उनलाई सहज थियो। तर अहिले मादल बिक्न छोडेपछि उनी गिट्टी कुट्ने र बालुवा बोक्ने गर्न थालेका छन्। मादल व्यवसाय संकटमा परेपछि दर्जीले पेशा बदल्नुपरेको हो।
उनले आफूसँग भएको सिप नबिकेपछि पेशा परिवर्तन गर्नुपरेको बताए। ‘मलाई पाँच÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँँ’, उनले भने, ‘अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन। बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु।’
पहिले बाह्रै महिना मादलको माग हुने गरेको र चाडबाडको वेला भ्याइनभ्याइ हुने गरेको उनले सम्झिए। अहिले मादल बिक्री नै नहुने उनले बताए।अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउँछन्।
‘मेरो पसलमा पहिले बाह्रै मास मादल किन्ने आउँथे। हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री गर्थ्यौँ’ उनले सम्झिए, ‘एउटाको १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थेँ। वर्षमा झण्डै पाँच लाख कमाइ गर्थेँ।’
दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए। गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो ‘साउण्ड सिस्टम’ किन्ने गरेको दर्जीको भनाइ छ।
निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो। उनको पनि मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको गुनासो गरे। पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए।
“चार वर्ष भयो। मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन’, उनले भने, ‘तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ। बिक्री नै हुँदैनन्।’
आधुनिकताले मादल व्यवसाय पनि संकटमा परेको उनको भनाइ छ । अहिले चाडबाड तथा मेला महोत्सवमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुने कारण मादल संकटमा परेको उनले बताए।
गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन्। बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बिक्री गर्ने जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताए।
पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको उनले बताए। ‘केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो’, शर्माले भने, ‘अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे।’