नेपालमा नानाे युरिया झोल मलको बिक्री सुरु
काठमाडौं -चाैधरी ग्रुप अन्तर्गतको सीजी एग्राे कम्पनीले नेपाली बजारमा नानाे युरिया झोल मल बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै सीजी एग्राेले सीजी इफ्काे नामक नानाे युरिया मल भित्र्याएको घाेषणा गरेको हाे । भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले उक्त मल नेपाली बजारमा भित्र्याइएको घाेषणा गरे ।
सीजी एग्राेले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजर काे-अपरेटिभ लिमिटेडले उत्पादन गरेकाे हाे । पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने याे मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्राेकाे दावी छ ।
हाल परम्परागत रुपमा प्रयाेग गर्दै आएकाे एक बाेरा (५० किलाे ) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ । स्प्रे वा ड्राेनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ। नानाे युरियाले जमिनकाे उत्पादकत्व बढ्ने र मलकाे प्रयाेग सही ठाउँमा हुने दावी गरिएकाे छ । नेपालमा मल अभाव चरमउत्कर्षमा पुगेपछि गत फागुनमा सरकारले नानाे मल प्रयाेगकाे अनुमति दिएकाे थियो ।
गत वर्ष नानाे मलकाे प्रयाेगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको थियाे । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको नार्ककाे दावी छ ।