झापामा हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु
झापामा पछिल्लो समयमा जङ्गली हात्तीको आक्रमणबाट बच्न मुस्किल बन्न थालेको छ । जिल्लामा पछिल्लो ९ महिनामा ४ जनाको हात्तीको आक्रमणबाट ज्यान गइसकेको छ ।
विशेष गरेर भारतबाट आउने जङ्गली हात्तीले झापाका विभिन्न सामुदायिक वन तथा चारकोशे झाडीमा आफ्नो वासस्थान बनाउँदै आएका छन् । जिल्लाको प्रमुख समस्याहरूको पहिचान गर्ने क्रममा जिल्ला विपद् व्यवस्थापन समितिले समेत हात्तीको समस्यालाई प्रमुख समस्याहरूमध्ये एक उल्लेख पनि गरेको छ ।
मङ्गलवार मात्र कचनकवल गाउँपालिकाको हात्तीको आक्रमणका कारण बाह्रदशीमा एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो । कचनाकवल गाउँपालिका वडा नं. १ का ३७ वर्षीय जगतबहादुर भुजेलको शव उठाउन हात्तीको समूहका कारण नै प्रहरी र स्थानीयलाई निक्कै सकसपूर्ण बन्यो ।
प्रहरी र स्थानीयले ४ घण्टाभन्दा बढी समय लगाएर साइरन बजाएर र विभिन्न उपाय लगाएर शव भएको स्थानबाट हात्तीको बथानलाई भगाएर अबेर राति मात्र शव उठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार हात्तीलाई घटनास्थलबाट धपाएर शव उठाउनका लागि झन्डै ५ घण्टा नै लाग्यो ।
केही महिनायता झापाको मेचीनगर, हल्दिबारी, कचनाकवल, दमक लगायतका पालिकाहरूमा र चारकोशे झाडीको रूपमा चिनिएको जल थलको जङ्गलमा जङ्गली हात्तीहरूको बथान देखिँदै आएको छ । एक साता अघि हल्दिबारी गाउँपालिकामा हात्तीको आक्रमणका कारण नै ४ जना स्थानीयहरू गम्भीर घाइते बन्नुभएको थियो ।
सामुदायिक वन र चारकोशे झाडी आसपासका बासिन्दाहरू पछिल्लो समयमा रातको समयमा राम्रोसँग निदाउन नसक्ने अवस्था आएको छ । दिनहुँ हात्तीको बथान देखिन थालेपछि त्रसित भएर जाग्राम बस्ने र हात्ती धपाउनका लागि आलोपालो गरेर जोखिमयुक्त क्षेत्रमा गस्ती गर्ने गरेको जनाइएको छ।
मानव र हात्तीको द्वन्द्व नियन्त्रणका लागि एक साताअघि पश्चिम बङ्गालको कलकत्तामा बहस पनि भएको थियो । नेपाल आउने भारतीय हात्ती पश्चिम बङ्गालबाट नै आउने गरेकाले दुई देशको नै यसमा ध्यान जानुपर्ने र यो विषयलाई गम्भीर रूपमा लिइनुपर्ने आफूहरूले आवाज उठाएको मानव र हात्तीको द्वन्द्व न्यूनीकरणमा जुटिरहनुभएका अर्जुन कार्कीले बताउनुभयो ।
मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रहनुभएका कार्कीका अनुसार आफूहरूले नेपालमा र विशेष गरेर झापामा हात्तीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउनका लागि नै भारतको कलकत्तामा प्रत्येक वर्ष हुने महोत्सवमा सहभागिता जनाएर यस विषयमा छलफल पनि हुने गरेको छ । समस्या समाधान गर्नका लागि भारतको सहयोग र सहकार्य जरुरी छ, उहाँले भन्नुभयो ।
मङ्सिरको अन्तिम साता भएको महोत्सवमा पनि हामीले प्रमुखताका साथ यो विषय उठाएका छौं र पश्चिम बङ्गाल सरकारको यसमा ध्यानाकर्षण भएको पाएका छौं, कार्कीको भनाइ छ । मानिस र हात्तीबीच सुमधुर सम्बन्ध बनाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्नुपर्छ भन्ने हामीले भनेका छौं, कार्कीले जनाउनुभयो ।
मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा ‘हात्ती कोरिडोर’ परियोजना पनि सञ्चालनमा आएको थियो । यस अन्तर्गत जिल्लाको दक्षिणी गाउँपालिका कचनाकवलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडोर निर्माणको काम ४ वर्ष अघि देखि नै भइरहेको छ ।
पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिकाको चारआलीमा हात्तीको आवतजावतका लागि अन्डर पास नै बन्दै छ । राजमार्ग विस्तारको क्रममा हात्तीको आवतजावतका लागि अन्डर पास निर्माण हुन लागेको हो ।