अर्काको घरमा मजदुरी गर्ने डम्मरले जब थाहा पाए ५० लाख ऋण
रुकुम- पश्चिमको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय डम्मर कामी कहिल्यै स्कुल गएनन्। पढ्ने इच्छा नभएको होइन तर गरिबीका कारण पढ्न पाएनन्। पाँच दाजुभाइमध्ये डम्मर काइँला हुन्। उनको घरनजिकै वन छ। गाउँलेहरू उनलाई ‘वनकाइँला’ भनेर चिन्छन्।
पढ्ने उमेरमा स्कुल पढ्न नपाए पनि केही न केही नयाँ काम गर्ने हुटहुटीले डम्मर गाडीमा काम गर्न थाले। स्थानीय रुटहरूमा चल्ने जीपमा सहचालक बनेर काम गर्दागर्दै उनी चालक भए। पछि ठूला गाडी पनि चलाए। बिहे पनि कमै उमेरमा भइगयो। परिवार ठिकै चल्दै थियो।
पाँच वर्षजति अघिको कुरा हो। पुर्ख्यौली घर रुकुम भएका र नेपालगञ्जमा बसेर व्यावसाय गर्ने तिकल विक (सिहाली) सँग डम्मरको चिनजान भयो। यही चिनजानले अहिले उनलाई निकै ठूलो समस्यामा पारेको छ। ५० लाख रुपैयाँको ऋणी छन्। वित्थैमा लागेको ऋणले उनी आहत छन्।
तिलकले चिनजानको केही दिनमै डम्मरलाई आफ्नो गाडीको चालक बनाए। मासिक ३० हजार रुपैयाँ तलब दिने भए। त्यो समय डम्मर २० वर्ष जतिका थिए । डम्मरले आफ्नी श्रीमती कल्पनालाई पनि तिलककै घरमा सहयोगीको रूपमा काम गर्न बोलाए।
तिलक अनेक व्यवसायमा संलग्न थिए। उनकी श्रीमती कमला विक कर्णाली विकास बैंकको सेयर सदस्य छिन्। तिलकले नेपालगञ्जमा प्रतीक टुर एन्ड ट्राभल्स र प्रतीक निर्माण सेवा चलाएका छन्।
तिलकले वाचाअनुसार डम्मर र कल्पना दम्पतीलाई तलब भने दिएनन्। तलब नपाएको लामै समय बित्यो। यही बीचमा तिलकले २०७६ साल चैतमा एकाएक भने- तिमीलाई पैसा दिन सकिन जग्गा पास गर्दिन्छु। कामको पारिश्रमिक बापत घडेरी पास गरिदिन्छु भनेपछि डम्मर र कल्पना खुसी भए।
नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा रहेको कित्ता नम्बर २८१ को ५४८ वर्गमिटर जग्गा डम्मरको नाममा पास गरिदिने कुरा भयो। जग्गा पास गर्ने दिन तिलकले डम्मरलाई भनेछन्– अहिलेसम्म काम गरेको तलब बापत जग्गा पास गरिदिएको हुँ।
डम्मरले कर्मचारीले भनेका ठाउँमा ल्याप्चे लगाइदिए। उनी निकै खुसी भए। आफ्नो नामको जग्गाधनीपुर्जा केही दिनमा हातलाग्ने आश्वासन पाए। त्यसअघि डम्मरले एउटा मोटरसाइकल किनेका थिए। मोटरसाइकल किन्न उनले जीवनबीमामा जम्मा भएको रकमबाट एक लाख १८ हजार रुपैयाँ झिकेका थिए।
नपुग रकम किस्ता तिर्ने गरी मोटरसाइकल लिएका थिए। जग्गा पास गरिदिएपछि तिलकले मोटरसाइकलको किस्ताको बाँकी दुई लाख रुपैयाँ पनि तिरिदिन्छु भने।एक दिन तिलक डम्मरलाई लिएर कर्णाली विकास बैंक गए। बैंकका कर्मचारीले उनलाई कहाँकहाँ ल्याप्चे लगाउन भने त्यही लगाए।
तिलकले त्यसै दिन मोटरसाइकलको किस्ता बापतको सबै रकम बुझाइदिए। आफ्नो नाममा घडेरी भयो। मोटरसाइकलको मूल्य चुक्ता भयो। डम्मर निकै खुसी भए। त्यो दिन डम्बर खुसी भइरहेका थिए तर उनले बैंकमा लगाएका ल्याप्चेले उनलाई ऋणि बनाइसकेको थियो।
डम्मरको नामको जग्गा धितो राखेर ५० लाख कर्जा निकालिएको थियो। हुन त डम्बरको बैंक खातामा पैसा जम्मा भयो। तर उनले त्यो दिन चेकमा ल्याप्चे पनि लगाएर आएका थिए।
केही समय अघि मात्र डम्बरले थाहा पाए आफू त फसिसकेको रहेछु भन्ने कुरा!
डम्मरको नाममा पास भएको जग्गा कर्णाली विकास बैंकका कर्जा विभाग प्रमुख मुकेश गौतमकी श्रीमती गिरिजाकुमारी जोशी गौतमको नाममा रहेछ। आफ्नो खाताबाट ४८ लाख रुपैयाँ बैंकका कर्जा विभाग प्रमुख गौतम लगायतका व्यक्तिमा नाममा सारिसकेछन्।
त्यो दिन तिलक सरले मलाई बैंकमा खाता खोल्न जाम् भन्नुभएको थियो बैंकमा गएर ठाउँठाउँमा ल्याप्चे लगाएर आएको थिएँ डम्मरले भने उहाँहरूले मेरो नामका तीन वटा चेक बुक पनि निकाल्न लगाउनुभएको थियो। खाली चेकहरूमा ल्याप्चे हान्न लगाउनुभयो।
डम्मरको नामको एटिएम कार्ड पनि निकालेको पाइएको छ र उनले कार्ड देखेका छैनन्। मनिकापुरका बासिन्दाहरूका अनुसार डम्मरको भनिएको जग्गाको मूल्य अहिले बढीमा २० लाख रुपैयाँ होला। स्थानीयबासीले अनुमान गरेको मूल्यभन्दा तेब्बर बढी मूल्यांकन गरेर बैंकले ५० लाख रुपैयाँ कर्जा दिएको देखिएको छ।
डम्मरको नामको जग्गा कर्णाली विकास बैंक लिमिटेड नेपालगञ्ज को नाममा रोक्का छ। अहिले आएर आफूलाई सबै कुरा थाहा भएको र पढ्न नजानेको आफूलाई षड्यन्त्र गरेको फसाएको डम्बरले बताए।