सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
वालिङ- यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो ।
सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ उहाँले भन्नुभयो ।
यसबाट हालसम्म करिब रु ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु । सुन्तला टिप्नेक्रम जारी रहेको र अझै रु तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय ९माघको दोस्रो साता० मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो ।
गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो । गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन उहाँले भन्नुभयो ।
केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो उल्टै घाटा लाग्यो । उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु सात लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ ।
हालसम्म सुन्तला बिक्रीबाट रु ४२ लाख आम्दानी गरे अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ उहाँले भन्नुभयो शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु ५५ लाख आसपास पुग्थ्यो ।