पूर्व गृहमन्त्री लामिछानेले नेपाली नागरिकता लिए
काठमाडौँ- पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला प्रकाशन कार्यालय बबरमहलबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो नागरिकता ऐन र नियमावली अनुसार नेपाली नागरिकता पुनः कायम गरिपाऊ भनी निवेदन प्राप्त भएकाले ऐन र नियमावली अनुसार लामिछानेले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
यसैगरी पूर्व गृहमन्त्री लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
नागरिकता लिएर बाहिरिने क्रममा भने लामिछानेले कुनै प्रतिक्रिया दिनुभएन । बाहिर उहाँका समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।
उहाँले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो । उहाँ पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको थियो ।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिन सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता दिन लाग्नुभएको हो ।नागरिकताकै विषयमा उहाँले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भइसकेको छ ।