गृहमन्त्री क्वार्टरमा ताला चाबी रवि लामिछानेसँग
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएको एक सातासम्म पनि सरकारी निवास छाडेका छैनन्। गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको पुरानो नेपाली नागरिकता कायम नरहेकाले सांसद पद बदर हुने फैसला गरेपछि उनले त्यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई राजीनामा बुझाएका थिए।
राजीनामा दिएको एक साता बितिसक्दा पनि उनले पुल्चोकस्थित मन्त्री क्वार्टर भने छाडेका छैनन्। लामिछाने अहिले मन्त्री क्वाटरमा आफू बस्दैनन् तर उनले त्यहाँको बुझबुझारथको काम भने गरेका छैनन्।
सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता पुन: प्राप्ति गरेका थिए। दिउँसो नागरिकता लिएका उनले साँझ प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर आफूलाई फेरि गृहमन्त्री नियुक्त गर्ने अनुरोध गरेका थिए।
गैरसांसद पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्थाअनुसार आफूलाई फेरि पुरानै जिम्मेवारी दिनुपर्ने उनको माग थियो। त्यसपछि पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो पार्टीलाई गृहमन्त्री नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।
यही विषयमा उनले अर्को सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन्। ओली रास्वपालाई नै गृह मन्त्रालय दिन तयार भए पनि प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्।