सुदूरपश्चिममा विना विभागीय मन्त्रीले २० दिनसम्म पनि पाएनन् जिम्मेवारी
धनगढी- २७ पुसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरे । रावलले २८ पुसमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलकी उपनेता सन्तोश शर्मा थापालाई मन्त्रीमा नियुक्त गरेका थिए । २८ पुसमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथग्रहण गरे भने सोही दिन दुवै जना मन्त्रीले पनि शपथ ग्रहण गरेका थिए ।
तत्काल कुनै जिम्मेवारी नतोकिएका मन्त्रीद्वय भट्ट र थापा नियुक्त भएको २० दिन पुगिसक्यो तर मुख्यमन्त्रीले उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् । अहिले मुख्यमन्त्री कार्यालयसँगै अन्य ६ वटा मन्त्रालयको जिम्मेवारीसमेत स्वयं रावलले सम्हालिराखेका छन् ।
मन्त्री खगराज भट्टलाई प्रदेश सरकारको जिम्मेवारी भने दिएका छन् । मन्त्रालय नतोकिएपछि बिनाविभागीय मन्त्रीका रुपमा गर्नुपर्ने काम गर्न सकेका छैनन् भने सुविधामा सरकारबाट पाउने गाडी र सुरक्षाकर्मी बाहेक लिएका छैनन् । कतिसम्म भने सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत मन्त्रीले निजी निवासमै व्यवस्थापन गर्नुपर्ने अवस्था छ । किनकि अहिले उनीहरुले सरकारी आवासको सुविधा लिएका छैनन् ।