Connect with us
Kapilvast Forest

जेल रेष्टुराँको सामान जफत

२०७९, २० माघ शुक्रबारमा प्रकाशित

नवीन ढुंगाना – दीपु जैसवाल भैरहवामा १० वर्षदेखि हार्डवेयर पसल चलाउँथे । २०७८ साउनदेखि उनको व्यापारमा मन्दी सुरु भयो । बजारमा धेरै उधारो गयो, पैसा उठेन ।
जैसवालले व्यापार बचाउन सम्पत्ति बिक्री गरेर बैंकको ऋण तिर्ने लगायत सम्भव भएसम्म सबै प्रयास गरे । तर, बजारबाट उधारो उठ्दै नउठेपछि उनको हार्डवेयर व्यापार जोगिएन ।

भैरहवाकै विष्णु पौडेलको फर्निचर व्यवसायको हालत पनि उनका निकट मित्र दीपुको हार्डवेयर व्यापार जस्तै भयो । बैंकको साँवाब्याज र बजारको उधारोबीच सन्तुलन मिलाउन नसकेपछि विष्णुले परिवारदेखि आफन्तसम्मलाई अनुनयविनय गरे, तर उद्यम जोगाउन सकेनन् ।

व्यापारिक–आर्थिक तनावकैबीच २०७८ माघमा दुई साथी भारत घुम्न गए । सोहीक्रममा चण्डीगढमा एउटा अनौठो रेष्टुराँमा उनीहरुको नजरमा पर्यो । ग्राहकको भिडमा छिरेर उनीहरुले त्यो ‘जेल रेष्टुराँ’को ‘कन्सेप्ट’देखि परिकारसम्मका कुराहरु बुझे ।

प्रहरीले बन्दी राख्ने हिरासत जस्तो रेष्टुराँको लबी र भित्ताहरुमा हत्कडी, नक्कली बन्दुक, सजाय दिंदा चलाइने विभिन्न चिजवस्तु सजाइएका थिए । दीपु र विष्णु रेष्टुरेन्टमा युवा ग्राहक आकर्षिक गर्ने यो काइदाबाट निकै प्रभावित भए ।

बुझ्दै जाँदा नेपाली सीमा नजिकैको अर्को भारतीय सहर गोरखपुरमा पनि यस्तो रेष्टुराँ चलेको उनीहरुले थाहा पाए । ‘हामी व्यापार डुबेर हैरान भएका मान्छे, भारतमा पुरा कानुनी मान्यताका साथ गजबले चलेको आइडिया नेपालमा लगाऔं भन्ने भयो,’ दीपुले भने, ‘अनि नयाँ कन्सेप्टमा बैंक ऋण लिएर रेष्टुराँ चलाउन गत वैशाखमा सिद्धार्थ नगरपालिका–१३, देवकोटा चोकको ठेगानामा जेल रेष्टुराँ दर्ता गरियो ।’

रुपन्देही जिल्ला घरेलु कार्यालयमा जेल रेष्टुराँ दर्ता गर्दा दीपु र विष्णुले कन्सेप्टसहित लम्बेतान ब्रिफिङ गरे । रेष्टुराँ सञ्चालनका लागि चाहिने वडा कार्यालयको सिफारिस लिंदा पनि उनीहरुले जेल रेष्टुराँको पुरै कन्सेप्ट भट्याउनु पर्यो ।

उनीहरुले गत वैशाखमा थालेको रेष्टुराँ खोल्ने प्रकृया मंसिर दोस्रो साता सकेर २८ गते ‘ओपनिङ’ गरे । एक करोड रुपैयाँ लगानी र सन्चालकबाहेक १३ जना कर्मचारीबाट सुरु भएको रेष्टुराँमा ६ फिट बाई ६ फिटको ८ वटा ‘क्याबिन सेल’ छन् । भारतमा देखिएको डिजाइन अनुसारै ‘सेल’ बनाएको दीपु जैसवाल बताउँछन् ।

‘कोही पनि मानिस जेल जान चाहँदैनन्, तर जेल कस्तो होला भन्ने चासो राख्छन्, राख्न पाइन्छ’ उनी भन्छन्, ‘त्यसलाई सांकेतिक रुपमा हामीले प्रयोग गरेका थियौं ।’

उनका अनुसार रेष्टुराँमा मेलापर्वमा पाइने बन्दुकहरु सजावटको रुपमा राखिएका थिए । असुरक्षित नहुुनेगरी डोरीका अन्य सजावट राखिएका थिए । हतकडी चाहिँ साँच्चिकैको थियो ।
‘अमेजनले भारतमा बिक्री गर्ने हतकडी अनलाइन अर्डर गरेर ल्याएका हौं’, दीपु भन्छन्, ‘रेष्टुराँमा ग्राहकहरुले सजावटमा फोटो खिचुन् र फरक खालको अनुभवका साथ खानपानका स्वाद लिउन् भन्ने उद्देश्य हो ।’

अर्का सन्चालक विष्णु पौडेल नयाँ कन्सेप्टको पूर्वाधारसहित रेष्टुराँ खोलेर यो चाहिँ मजाले चल्छ भनेर ढुक्क भएको बताउँछन् । ‘यो कन्सेप्टको सिको अब नेपालभर फैलिन्छ भनेर रमाइरहेका थियौं,’ उनी भन्छन्, ‘तर, हाम्रै रेष्टुरेन्ट भव्य रुपमा चलेको तीन महिनामा अचानक प्रशासनले बन्द गरायो ।’

माघ पहिलो हप्ता एउटा टेलिभिजनले कानुनतः बर्जित सामानहरु प्रयोग गरिएको जेल रेष्टुराँले मानिसलाई नकारात्मक असर पार्ने भन्दै समाचार प्रसारण गरेको थियो । सञ्चालकहरुका अनुसार हतकडी, बन्दुक, जेल, फाँसीको डोरीसहितको रेष्टुरेन्ट संरचनाले मानिसमा नकारात्मक असर पार्ने उक्त टीभीको दाबी थियो । समाचार प्रसारण भएको भोलिपल्टै सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशानसन कार्यालयमा बोलाएर केरकार भयो ।


‘आत्मसमर्पण बाहेक अर्को उपाय रहेन’

दुवै कार्यालयमा आफूहरुले भारत र अन्य मुलुकमा यस्तो रेष्टुराँ चलेको, नेपालमा पनि सम्बन्धित सबै निकायमा कानुनी प्रक्रिया पूरा गरेर जेल रेष्टुराँ खोलेको बताएको दीपु र विष्णु बताउँछन् ।

‘त्यत्रो बेलिबिस्तार लगाउँदा पनि सिडियोले हाम्रा कुरा सुनेनन्, उल्टै थुन्ने धम्की दिए’, दीपु सुनाउँछन्, ‘विदेशमा केटीहरुलाई नाङ्गै राखिन्छ । यहाँ पनि राख्ने ? भन्दै थर्काए ।’ सोही दिन बेलुकी आएका सहायक सिडियो रामचन्द्र अर्यालले हतकडी, खेलौना बन्दुक र डोरीहरु कब्जामा लिएर रेष्टुराँ बन्द गरिदिएको उनले बताए ।

रेष्टुराँ बन्दपछि कसुरको बयान लिन भोलिपल्ट फेरी जिल्ला प्रशासन कार्यालयमा बोलाइयो । ‘कन्सेप्ट र लगानीबारे जति बताउँदा पनि सुन्न तयार भएनन्,’ दीपु भन्छन्, ‘मिडियाले समाचार लेखिसक्यो भन्दै हप्काए । हामीले सरकारसँग लड्न सक्ने कुरै भएन । आत्मसमर्पण बाहेक अर्को उपाय रहेन ।’

अन्ततः रेष्टुरेन्टको नाम फेरेर जेलको साटो जाल बनाउन, पहिलेको जस्तो इन्टेरिअर नराख्न प्रशासनले निर्देशन दियो । त्यसपछि दीपु र विष्णु जिल्ला घरेलु कार्यालय पुगे । घरेलुले पनि प्रशासनको ‘हो’ मा हो मिलायो । यसरी शुक्रबारबाट रेष्टुराँ सञ्चालनमा आएको छ, तर प्रशासनले नै बन्द गराएको विवादका कारण ग्राहक आएका छैनन् ।

प्रशासनले देखेका चार कैफियत

रेष्टुराँ अनुगमनमा गएका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले यो विषय ‘सेटल’ भइसकेको बताए । अनुगमनका क्रममा चारवटा कैफियत भेटेको पनि उनले बताए ।

उनका अनुसार ‘जेल एण्ड बार’ नाम आफैंमा एउटा कैफियत हो । रेष्टुराँभित्र कैदी बस्नेजस्तै कोठा हुनु दोस्रो कैफियत हो । सुरक्षा निकायले प्रयोग गर्ने हतकडी र एअर गनको प्रयोग तेस्रो कैफियत हो । त्यस्तै, आत्महत्या दुरुत्साहन गर्ने डोरी लगायतका चिजबिच रेष्टुराँको चौथो कैफियत थियो ।

‘हामीले केही कैफियत जफत गर्यौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘व्यापारमा नयाँ अवधारणा आउनुपर्छ, तर समाजलाई नकारात्मकतातर्फ लैजान पाइन्न ।’

राम्रो अवधारणामा व्यापार गर्नेलाई प्रशासनले कहिल्यै हतोत्साही नपार्ने उनले बताए ।
सभारः अनलाइनखबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu