सडकमा जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन
दमक- झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् । कुखुरा सडकमा फ्याल्दा केही कुखुरा मरेका छन् । सडकमा कुखुरा र अण्डा फ्यालिँदा केही समय सडक अस्तव्यस्त बनेको थियो ।
बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत भारतबाट अवैध रूपमा कुखुरा तथा अण्डा आउने क्रम नरोकिएको किसानको भनाइ छ ।
कुखुरापालक अगुवा किसान देवेन्द्र प्रसाईँका अनुसार कसैको ध्यान नगएकाले आफ्नो उत्पादन सडकमा फ्याकेर विरोध जनाएको बताउनुभयो । सडकमा नआएसम्म कसैको ध्यान नजाने रहेछ त्यही भएर आफ्नो जे उत्पादन छ त्यहीँ लिएर सडकमा आएका हौँ उहाँले भन्नुभयो ।