त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार र आधुनिकीकरण गरिँदै
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।
वि.सं.२०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो ।
करिब ७५ करोड रुपियाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत विद्युत गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने छ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरु गरिएको छ ।