पशुचौपाया ओसारपसारमा रोक
सिन्धुलीमाढी- सिन्धुलीको तीनपाटन र फिक्कल गाउँपालिकाले पशुचौपाया ओसारपसारमा रोक लगाएको छ । तीनपाटन गाउँपालिकाको वडा नं. ३, ४, ८ र ११ तथा फिक्कल गाउँपालिका–२ र ४ मा पशुचौपायामा खोरेतको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न पशुचौपाया ओसारपसारमा रोक लगाएको ती गाउँपालिकाले जनाएका छन् ।
तीनपाटन गाउँपालिका पशु सेवा शाखा संयोजक जयन्त कार्कीले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र गाउँपालिकाको समन्वयमा जोखिम सम्भावित क्षेत्रमा खोरेत रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेकाले अन्य क्षेत्रमा सङ्क्रमण फैलिन नदिन गाउँपालिकाभित्र केही समयका लागि पशुचौपाया ओसारपसारमा रोक लगाएको जानकारी दिनुभयो ।