गोरखापत्रकर्मी दाहालसहित पूर्व जनप्रतिनिधि सम्मानित
हेटौँडा- हेटौँडा उपमहानगरले ५४ औं हेटौँडा नगर स्थापना दिवस मनाएको छ । २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायत स्थापना भएको आधार वर्ष मानेर पहिलो पटक हेटौँडा नगर स्थापना दिवस मनाइएको हो ।
नगर स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा गोरखापत्रकर्मी राममणि दाहाललाई सम्मानित गरिएको छ । हेटौँडामा रहेर मकवानपुरको पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याएवापत गोरखापत्रका मकवानपुर समाचारदाता दाहाललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्मानित गर्नुभयो ।
सो क्रममा यहाँको विकासमा योगदान पु¥याउने समाजका अग्रजसहित पूर्व जनप्रतिनिधिलाई सम्मानित गरिएको छ । कार्यक्रममा २०२६ मा तत्कालीन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्नेमध्ये जीवित पुष्पहरि जोशी, गोपाल शर्मा, निरशङ्कर श्रेष्ठ, हेटौँडा उपमहानगरका पहिलो नगरप्रमुख हरिबहादुर महत र तत्कालीन हेटौँडा नगरपालिकाका नगरप्रमुख डोरमणि पौडेललाई सम्मानित गरिएको हो ।