गहुँको सिजन कुर्दै उद्योगी
विराटनगर- भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् ।
गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिवंश राठीले जानकारी दिनुभयो । गहुँ पाक्ने सिजन नजिक आएकाले भण्डारण गरिएको गहुँबाट केही आपूर्ति भए पनि मागअनुसार नभएको राठीले बताउनुभयो ।
भारतले निर्यातमा रोक लगाएपछि पैठारीकर्ताले गत वैशाखअघि आयात गरेर भण्डारण गरेको गहुँको मूल्य बढेको थियो । त्यसको असर उपभोक्तासम्मलाई परेको छ ।
भारतले कोटा तोकेर ५० हजार मेट्रिक टन गहुँ नेपाललाई दिने बताएको छ । कोटा बाँडफाँट र आयातमा समय लागेपछि कच्चा पदार्थको अभाव झेल्नुपरेको उद्योगी राठीले बताउनुभयो ।