अनेरास्ववियु अध्यक्षमा चार आकांक्षी,सहमती नभए नयाँ नेतृत्वका लागि मतदान
काठमाडौँ — एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं महाधिवेशनमा ४ विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् ।
त्यसैगरी, ४ उपाध्यक्षमा १५ जना आकांक्षी छन् । देशभरका क्याम्पस तथा भूगोल कमिटीबाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ ।
उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।
महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।
मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र पनि सुरु भएको छ । बन्द सत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन् ।
अखिलको २२ औं महाधिवेशनमा २०७२ सालमा भएको थियो । सो महाधिवेशनले नवीना लामालाई निर्वाचित गरे पनि २०७४ सालमा सांसद भएपछि पद छाडेकी थिइन् । त्यसबीच ऐन महर र सुनिता बराल अध्यक्ष बने । यसअघि २–२ वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व छनोट हुने गरेको थियो ।