नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार : फोटो फिचर मन्त्री चौधरी
काठमाडौं- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
नेपाल छाला जुत्ता उत्पादक सङ्घद्वारा बुधबारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारासहित आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु गरेको हो । मन्त्री चौधरीले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी यही फागुन ९ गतेसम्म चल्नेछ ।
उहाँले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबात तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गर्नुभयो । मन्त्री चौधरीले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताउनुभयो । उहाँले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको सङ्घले जानकारी दिएको छ ।


