नाउपाको संकेत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीको आशा
धनगढी- २६ माघमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले २४ घण्टा नबित्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेटे । टीकापुरस्थित सिद्धार्थ होटलमा भएको भेटमा शाहले श्रेष्ठसँग विश्वासको मत मागेका थिए ।
श्रेष्ठले तत्काल ठोस जवाफ दिन नसकिने बताएपछि उनले डिल्लीबजार कारागार पुगेर उक्त पार्टीका सल्लाहकार रेशम चौधरीलाई भेटेर विश्वासको मत मागे । नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा शाहको मुख्यमन्त्री पद कायम रहन्छ । नभए एक महिनामै पदमुक्त हुन्छन् । त्यसैले उनी उक्त पार्टीलाई फकाउन लागिरहेका छन् ।
२८ माघमा कैलालीको जानकी गाउँपालिकास्थित रेशमको घर पुगेका शाहले उनको परिवारसँग रेशमलाई जेलबाट छुटाउने आश्वासन दिए । डिल्लीबजार कारागारमा भेट्दा पनि रेशमलाई त्यही आश्वासन दिएको स्रोत बताउँछ ।