राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु: प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता सङ्घीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापन पत्र पेस गरेको थियो। भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।
साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो। भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
प्रधानमन्त्रीले बैठक स्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापन पत्र सम्बोधन हुने गरि शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जवाफमा प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।