जजिरा एयरलाइन्सले पुनः उडान सुरु गर्ने
भैरहवा- सात महिना कुवेत-भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै संख्यामा अवतरण भएका थिए । उक्त अवधिमा १३ हजार पाँच सय ९३ जना यात्रुहरु भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरु यहाँबाट विदेश उडेका थिए । यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरुले सेवा लिएका थिए ।
जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरु गर्न भन्दै पहल थालेका थिए । यस विषयमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच भैरहवामा छलफलसमेत भएको थियो ।