ब्राजिलमा भीषण बाढी : ३६ जनाको मृत्यु
साओ पाउलो- ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको मोटरकार खोलामा खसेका भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् ।
उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा २२८ जना घरबारविहीन भएका तथा ३२८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्काल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्नुहुने भएको छ ।