सुखानी काण्डको ५० वर्ष झापा विद्रोहको सम्झना
दमक- अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिष्टहरुले भन्दै आएको झापा विद्रोह भएको ५० वर्ष पुगेको छ । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना सहिद बन्नु भएको थियो ।
झापा र इलामको संगमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिन ५० वर्ष पुगेको हो । रामनाथ दाहाल नेत्र घिमिरे कृष्ण कुइँकेल वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको थियो ।
झापाका केही कम्युनिस्टहरूले वर्ग शत्रु खत्तम अभियान चलाएका थिए । वर्ग शत्रु खत्तम अभियान अन्तर्गत बि.स.२०२८ साल जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिर गडीका एक जमिनदारको हत्या भएको थियो । झापा विद्रोहको सुरुवात यहीबाट भएको जानकारहरू बताउँछन् ।
सुखानी हत्याकाण्डले परिचित ५ जनाको हत्या भएको बर्षौपछि मात्र सहिद घोषणा गरिएको थियो । झापा विद्रोहको क्रममा लामो समय जेल जीवन बिताउनु भएका हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले उनीहरूलाई शहीद घोषणा गरेको थियो ।
सरकारले झापा विद्रोहकै क्रममा मारिएका चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाल लगायत २२ जनालाई शहीद घोषणा गरेको थियो । अहिले सुखानीमा शहीद स्मारक बनाएर राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गरिँदै लगेको पाइन्छ ।
वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए । सो आन्दोलनमा सहभागी संविधान सभा सदस्य समेत बनिसक्नु भएका एमाले नेता मनकुमार गौतमका अनुसार त्यो समय पञ्चायती शासन विरुद्ध बिद्राेह गर्नु धेरै नै चुनौती र काष्ठप्रद रहेको थियो ।