राजधानीमा सभ्य बन्न थाल्यो फागुपूर्णिमा पर्व
काठमाडौँ- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिएन ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरूपमा हिँड्डुल गर्न सकेको कीर्तिपुरबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आउनुभएकी मनिता महर्जनले बताउनुभयो ।