प्रहरीद्वारा मुचुल्का नगरी लगेको लाखौँको सामान फिर्ता
इटहरी- नेपाल प्रहरीको लागु औषध ब्युरो अन्तरगत झापामा परिचालित टोलीले दमकस्थित एक घरबाट एक महिना अघि गरेको एउटा सर्च र कारबाही प्रक्रियाको क्रममा लगेको विभिन्न सामान प्रहरीले सम्बन्धित परिवारलाई फिर्ता गरेको छ ।
गत माघ १८ गते ब्युरोको टोलीले दमक नगरपालिका वडा नम्बर २ खरखरेबाट तीनजनालाइ केही परिणामको लागु औषधसहित पक्राउ गरेको र त्यस क्रममा केही नगद सुन लगायतका विभिन्न समान प्रहरी प्रतिवेदन र मुचुल्कासमेतमा उल्लेख नगरी लगको विषयको समाचार गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा प्रकाशित भयसँगै प्रहरीले समान फिर्ता गरेको छ ।
ब्युरोका प्रहरी नायव निरीक्षक सचिन्द्र लामिछानेको नेतृत्वमा गएको टोलीले दमक २ खरखरेबाट दमकका ३७ वर्षका तेजकुमार खवास, ३५ वर्षका सुनिल श्रेष्ठ र २२ वर्षका विजय धिमाललाई पक्राउ गरेको थियो ।
घर खानतलासी गर्ने क्रममा ब्युरोको टोलीले लगेका विभिन्न सवारी साधन नगद सुन लगायत विभिन्न बहुमूल्य सामानमध्ये प्रहरी प्रतिवेदन र मुचुल्कामा उल्लेख नगरी लगेको सामान समाचार प्रकाशित भएपछि आरोपीका आफन्तलाई इलाका प्रहरी कार्यालय दमकमार्फत फिर्ता गरिदिएको हो । पक्राउ परेका सुनिलका ज्वाइँ अनुप गुरुङले गोरखापत्रमा समाचार प्रकाशित भएपछि ब्युरोको टोलीले इप्रकामार्फत बोलाएर सामान फिर्ता दिएको बताउनु भयो ।