आठ वर्षमा पनि पूरा भएन ठिमुरा : देवघाट पुल
चितवन- भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन।
२०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भए पनि कार्य सम्पन्न गर्ने समयावधिसम्म पुल निर्माणको काम नै सुरु गर्न सकेको थिएन । सुरुवातमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुलको पछि नक्साङ्कन संशोधन डिजाइन रिभ्यु पछि लागत बढेर २१ करोड ६८ लाख रुपियाँ पुगेको थियो ।
तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज इलाइट एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण सम्पन्न गरिसक्नुपथ्र्याे।
२०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भएको उक्त पुलको पक्की संरचना निर्माणको क्रममा २०७७ चैत २४ गते भत्केको थियो। पक्की संरचना भत्केको १८ दिनपछि २०७८ वैशाख १२ गते स्टिल संरचना निर्माणको क्रममा भत्केको थियो। स्टिल संरचना भत्किँदा उक्त समयमा काम गरिरहेका १४ जनामध्ये तीन जनाको मृत्यु भएको थियो।