उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिने
काठमाडौँ- अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले लगानी विविधीकरण गर्दै जानुपर्ने जनाए ।अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेकाले लगानी विविधीकरण गर्दै बढी प्रतिफल आउने गरी पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सचिव घिमिरेले जानकारी गर्नुभयो ।
कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा सचिव घिमिरेले कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको चर्चा गर्दै विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याङ्क लिन थालेपछि त्रुटि कम हुन थालेको बताएका छन् ।
कोषले सूचना प्रणालीको अवलम्बन गर्नु राम्रो भए पनि अनलाइन प्रणाली जोखिम हुँदा सञ्चयकर्ताको लगानी कसरी सुरक्षित गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेकाले तथ्याङ्क सुरक्षित राख्न ध्यान दिन जोड दिनुभयो ।