घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
रामेछाप- रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका ३ ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता लिइरहेकी थिइन् ।
पति रामबाबुले आफैँले कागज बनाइदिएर श्रीमती निर्मलालाई एकल महिला भत्ता खुवाएको पाइएको छ। निर्मलाले गत माघसम्ममा १५ महिनाको एकल महिला भत्ताबापतको रकम बुझिसकेकी छन् ।
मन्थली नगरपालिकाको तथ्याङ्कअनुसार निर्मलाले गत माघसम्म मासिक दुई हजार ६६० रुपियाँका दरले १५ महिनामा ३९ हजार नौ रुपियाँ सामाजिक सुरक्षा भत्ता बुझ्नुभएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रामबाबुले श्रीमती निर्मलालाई २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनाइ दिएको पाइएको हो ।
आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको रहस्य सार्वजनिक भएपछि कारबाही हुने डरले खत्रीले आफ्नो जागिर जिल्ला प्रशासन कार्यालयबाट जिल्ला कारागार रामेछापमा सरुवासमेत गर्नुभएको थियो।
सिन्दूर पोतेसहित रातो पहिरनमा नेपाल इन्भेस्टमेन्ट बैङ्कमा सामाजिक सुरक्षा भत्ताबापतको रकम झिक्न पुग्नुभएकी निर्मलालाई बैङ्क कर्मचारीलाई शङ्का लागेपछि सोधपुछ गरेपछि निर्मलाको पति जीवित नै रहेको तथ्य बाहिर आएको हो।
त्यहाँबाट पनि कारबाहीमा परिने डरले उहाँले हतार–हतार जागिर छाड्नुभएको छ। खत्रीको एकल महिला प्रमाणपत्र तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी बनाई दिनुभएको थियो।
महतोले खत्रीकी श्रीमती निर्मलालाई बनाइदिएको एकल महिला परिचयपत्रमा बाबु–आमाको मात्र नाम खुलाइएको छ तर पतिको नाम खुलाइएको छैन। निर्मला खत्रीले एकल महिला भत्ता लिएको कुरा सत्य भए पनि यो आफू निर्वाचित भएर आउनुअघिकै घटना भएको मन्थली नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णगोपाल थापाले जानकारी दिनुभयो ।