अरनिको राजमार्गको प्रगति नौ महिनामा बाह्र प्रतिशत
काभ्रेपलाञ्चोक- अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुरु भएको नौ महिना पुरा भयो । अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड स्तरोन्नति तथा विस्तार गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको हो ।
डिभिजन कार्यालय र निर्माण व्यवसायीबिच २२ महिनामा काम सम्पन्न गर्ने सर्तमा २०७९ जेठ २० मा सम्झौता भएको थियो । सडक स्तरोन्नति तथा विस्तारको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीले कुल ठेक्का समयको ४० प्रतिशत समय सकिँदा करिब १२ प्रतिशत काम मात्रै सकेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने बिद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको हो । डिभिजन सडक कार्यालयका इन्जिनियर नेत्र देवकोटाले अरनिको राजमार्गको धुलिखेल–खावा सडकको ठेक्का पाएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेको जनाएका छन् ।
सडक निर्माण गर्नुपर्ने समयावधिको ४० प्रतिशत समय सकिएको छ तर हालसम्म करिब १२ प्रतिशत मात्रै काम भएको छ निर्माण कम्पनीले सोचे जस्तो काम गरेन उहाँले थप्नुभयो । उहाँले निर्माण व्यवसायीले राम्रोसँग काम नगरेपछि कार्यालयले नौ महिनामा सात वटा पत्र काटेर काम ढिलाइ हुनुको कारण सोधे पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको बताए ।