रामचन्द्रपछि तनहुँमा राजनीति दोस्रो पुस्ताको हातमा
पोखरा- पञ्चायतकालमै बिपी कोइरालासहित कांग्रेसको नेतृत्वसँग सम्बन्ध बनाएका रामचन्द्र पौडेलले गत आमचुनावसम्म तनहुँको राजनीतिमा रजगज गरे । कांग्रेस शीर्ष तहमै सम्बन्ध र प्रभाव पारेका रामचन्द्रले २०४८ यताका सबै चुनावमा आफूले टिकटमात्र लिएनन् गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग पनि भाग खोजेर टिकटै बाँड्ने ठाउँमै पुगे ।
प्रजातन्त्र स्थापनाका लागि क्रान्तिमा होमिने र कांग्रेस गठनमै क्रियाशील तनहुँका श्रीभद्र शर्मा र गोवर्द्धन शर्मापछि बिपीहरुसँग रामचन्द्रले निकट सम्बन्ध बनाए । गोवर्द्धन कांग्रेसको केन्द्रीय सदस्यसम्म बने भने श्रीभद्र त महामन्त्री नै बने ।
तर तनहुँले पार्टीको नेतृत्व र देशकै नेतृत्व गर्ने नेता अहिलेसम्म पाएको छैन । केन्द्रीय सदस्य र मन्त्री हुने तनहुँमा कांग्रेस नेताहरुको सूची लामै भए पनि पटक पटक सांसद मन्त्री सभामुख उपप्रधानमन्त्री हुँदै देशकै सर्वोच्च पद राष्ट्रपतिसम्म पुग्ने व्यक्तिका रुपमा रामचन्द्र पौडेल उचाइमा पुगे ।