सरकारले तोकेका पर्यटकीय गन्तव्यमा एक्लै घुम्न जान नपाइने
काठमाडौं- नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
पदयात्री एवम् पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमति पत्र लिनुपर्नेछ । अर्थात् अबबाट कोही पनि समूहमा मिलेर जटिल स्थानतर्फ विशेष गरी हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान नपाइने भएको हो ।
नेपालमा पदयात्रालाई सुरक्षित बनाउन पदयात्रीको सेवा सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरु गरिएको हो । यो मापदण्ड आज शनिबार बाट नै लागू हुनेछ ।
तर हिमाल आरोहण अनुमति पत्र लिई हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमति पत्र लिनु पर्नेछैन । अध्यागमन विभागबाट अनुमति पत्र लिई नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकका लागि टिप्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ ।