मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ: अर्थमन्त्री डा. महत
विराटनगर-अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ ।
अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ ।
एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो । कति कसिकसाउ गर्नुपर्ने पथ्र्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’
ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । व्याजदरले बजारमा पूँजी प्रवाह भइरहेको छैन ।
मौद्रिक नीतिमाफृत् बजारमा पूँजी प्रवाह गर्न जरुरी छ । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा. महतको भनाइ छ ।